सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाओजिन वाङको समूहले गरेको थियो झन्डै ३२०० किलो सुन तस्करी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ब्रेक सुसहित विभिन्न उपकरणमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सकेर सिआइबीले सोमबार नै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ।

त्यसबारे जानकारी दिन सिआइबीले सोमबार पत्रकार सम्मेलन गरेको छ।

सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करीमा संलग्न गिरोहले यसरी नै विभिन्न उपकरण र इलेक्ट्रोनिक सामानहरूमा राखेर अहिलेसम्म ३ हजार १९४। ६६८ किलो सुन तस्करी गरेको बताएका छन्।

त्यसरी विभिन्न उपकरणमा राखेर ल्याइएको सुनको अहिलेको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रूपैयाँ रहेको सिआइबीले जनाएको छ।

त्यसरी ल्याइएको सुन गाल्नका लागि दुई वटा समूह समेत परिचालन भएको सिआइबीले फेला पारेको छ।


टोखामा एलेक्स भन्ने याओ प्युचेङ लगायतका समूह यसअघि नै पक्राउ परिसकेका थिए। दोस्रो चरणको अनुसन्धानबाट लाजिम्पाटमा साम भन्ने झोङ जिङचुआन लगायतको समूह पक्राउ परेका हुन्।

सिआइबीले दोस्रो चरणको अनुसन्धानबाट तस्करीमा संलग्न २० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोईटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठ छन्।

सिआइबीले तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएपछि पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरज शम्शेर जबरा पक्राउ परेका छन्।

त्यस्तै अवैध भुक्तानीमा संलग्न रहेको भेटिएपछि पेमेन्ट गेटवे सजिलो पे का प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र शुशिला जाकिबन्जा पनि पक्राउ परेका छन्।

एजेन्टहरू लालबहादुर कुँवर र अरूण कुमार यादवसहित सिआइबीले विभिन्न मितिमा गरी हालसम्म २० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा १४ जना नेपाली नागरिक, ४ जना भारतीय र दुई जना चिनियाँ नागरिक छन्।

सिआइबीले पक्राउ परेका २० जना र फरार रहेका २६ जना गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो।

उनीहरूविरूद्ध २ खर्ब ६६ अर्को ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको बिगो दाबी गरिएको छ। भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन-२०७०, मुलुकी अपराध संहिता २०७४, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही सिफारिस गरिएको छ।

सिआइबीले बुझाएको प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ। मंगलबारसम्म जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी कार्यालयको छ।

६० किलो सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा सिआइबीले चिनियाँ नागरिक दाओजिन वाङ नै मुख्य व्यक्ति रहेको बताएको थियो।

वाङले विभिन्न डमी कम्पनी बनाएर त्यसमार्फत ब्रेक सु, पानी तान्ने पम्म लगायतमा सुन राखेर नेपाल भित्र्याउने गरेको खुलेको थियो।

दोस्रो चरणको अनुसन्धानमा पनि वाङकै लगानीमा विभिन्न कम्पनी खोलेर ३ हजार १९४ किलो सुन तस्करी भएको सिआइबीले फेला पारेको छ। वाङ अहिले फरार छन्।

६० किलो सुन समातिसक्दा पनि सुन तस्करी रोकिएको थिएन। पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेका थिए। तीमध्ये अदालतको आदेशबाट २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »