सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनको सिमलताल घटना अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

काठमाडौं। चितवनको सिमलतालमा पहिरोले बगाएर दुइटा गाडी त्रिशूलीमा पुर्‍याएको घटना अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

साथै उनले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने पहिलो प्राथमिकता रहेको बताए। गत शुक्रबार सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको दुइटा गाडीको घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने निर्णय भएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि राखेर समिति गठन गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। उक्त कार्यदललाई १० दिनको समय दिइएको छ।

कार्यदलले सिमलतालमा कसरी पहिरो गएको, के कारणले घटना भयो, यस्ता घटना दोहोरिन नदिन के गर्ने, बेपत्ता भएकाहरूलाई राहत के(कसरी उपलब्ध गराउने भन्ने विषय समेटेर प्रतिवेदन तयार पार्नेछ।

गृहमन्त्री लेखकले पनि प्राकृतिक प्रकोपबाट उत्पन्न परिस्थितिसँग जुध्नु नै पहिलो निर्णय भएको बताएका छन्।

‘प्राकृतिक प्रकोपका कारणले जनधनको क्षति भएको छ। चुनौती खडा भएको छ। यसलाई उचित ढंगले सम्बोधन गर्नेकुरा हाम्रा लागि अहिले सबैभन्दा प्राथमिकताको र सबैभन्दा उच्चतम महत्व दिएर काम गर्नुपर्ने क्षेत्र हो,’ उनले भने, ‘धेरै ठाउँमा जनधनको क्षति भएको छ। अहिले भर्खरै बहाली गर्दा केही निर्णय गरेका छौं। अहिले प्राकृतिक प्रकोपले जुन विषम् परिस्थिति उत्पन्न भएको छ त्यसलाई सम्बोधन गर्ने पहिलो दायित्व हो।’

त्यसैगरी गृहमन्त्री लेखकले नेपाल प्रहरीको चौथो क्राइम एक्सन प्लानसमेत स्वीकृत गरेका छन्। नेपाल प्रहरीको अपराध अनुसन्धान तथा रणनीतिक कार्ययोजना उनले स्वीकृत गरेका हुन्। यो योजना तीन(तीन वर्षमा परिवर्तन हुने गरेको छ।

अपराध नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने, नयाँ प्रविधिसँग जोडेर हुने अपराधलाई कसरी नियन्त्रण गर्ने, स्रोत साधन, जनशक्ति लगायतका विषयलाई समेटेर कार्ययोजना बनाइएको हुन्छ। यो कार्ययोजना नयाँ आर्थिक वर्ष अर्थात मंगलबारदेखि नै लागू हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »