सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युक्रेनले पायो अमेरिकी एफ-१६ लडाकु विमान

काठमाडौं । युक्रेनले नेटो राष्ट्रहरूबाट अमेरिकी एफ-१६ लडाकु विमान पाएको छ।

युक्रेनलाई एफ-१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही एफ-१६ लडाकु विमान भित्रिइसकेको भनेर ब्लुमबर्ग मिडियाले जनाएको छ।

युक्रेनलाई जुलाई अन्तिम सम्ममा एफ-१६ लडाकु विमान दिने प्रतिबद्धता अनुसार सो म्यादभित्रै केही विमान युक्रेनको हात लागेका छन्। 

युक्रेनमा एफ-१६ लडाकु विमान आइपुगेको युक्रेन वा नेटो कसैले पनि आधिकारिक पुष्टि गरेका छैनन्। तर विगत केही दिनमा सामाजिक सञ्जालमा युक्रेनी आकाशमा उडिरहेका एफ-१६ लडाकु विमान भनेर धेरै तस्बिरहरू पोष्ट भने भएका छन्।

विगत महिनाहरूमा पश्चिमी देशहरूमा तालिम लिएका युक्रेनी पाइलटले ती विमान अहिले नै चलाउने हुन् वा उनीहरू ती विमान उडाउन सक्षम हुन अझै समय लाग्ने छ भन्ने स्पष्ट छैन भनेर ब्लुमबर्ग लेखेको छ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ-१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएका थिए। त्यसको १४ महिनापछि एफ-१६ लडाकु विमान अन्ततः युक्रेनको हात लागेको छ।

अमेरिका आफैले एफ-१६ लडाकु विमान दिने नभने पनि बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेले युक्रेनलाई ८० वटा सो विमान उपलब्ध गराउने वाचा गरेका छन्। अहिले युक्रेनको हात लागेका विमान कसले दिएको हो भन्ने पनि खुलेको छैन।

युक्रेनसँग अहिले आफू सोभियत संघको अंग हुँदाका पुराना लडाकु विमानहरू मात्रै छन्। रूससँग सोभियत संघ विखण्डन भएपछि बनाएका आधुनिक लडाकु विमान पनि भएकाले हवाइ युद्धमा रूस युक्रेनमाथि हाबी छ।

अमेरिकी सेनाले अहिले प्रयोग गर्ने अत्याधुनिक एफ-३५ लडाकु विमानभन्दा पुराना भए पनि एफ-१६ विमान युक्रेनसँग हाल भएका लडाकु विमानभन्दा आधुनिक र धेरै शक्तिशाली छन्। अमेरिकाले दिइरहेका हतियारहरू प्रयोग गर्न मिल्ने भएकाले यसले रूससँगको युद्धमा महत्वपूर्ण सफलता दिलाउने युक्रेनको आशा छ।

हाल हात लागेका एफ-१६ विमान थोरै संख्यामा भएकाले तिनलाई अहिले आक्रमणका लागि भन्दा रूसले गर्ने हवाइ आक्रमण निस्तेज पार्न रक्षात्मक प्रयोजनका लागि उपयोग गरिने अनुमान गरिएको छ।

उसै पनि अमेरिकाले यी विमान आक्रमणका लागि प्रयोग गर्न आधुनिक हतियारहरू दिंँदा जस्तै शर्तहरू राखेको हुन्छ।

अहिले नै धेरै युक्रेनी पाइलटले तालिम नपाइसकेको, युक्रेनी सेनाको विमान चलाउन प्रयोग हुने अङ्ग्रेजी भाषामा कमजोर पकड र युक्रेनमा एफ-१६ विमानका लागि उपयुक्त रनवे थोरै भएका कारणले पनि धेरै एफ-१६ विमान युक्रेनले प्रयोग गर्न पनि सक्दैन। तर विस्तारै ठूलो संख्यामा एफ-१६ विमान हात लागिन्जेल सम्ममा युक्रेनले ती विमान आक्रमणमा पनि प्रयोग गर्न सक्ने हुनेछ।

यसको प्रयोगले युक्रेनलाई युद्धमा थप सफलता मिल्न सक्ने छ। अर्को तर्फ यी विमानहरू युक्रेनले आक्रमणमा प्रयोग गर्न थाल्ने भए पछि रूसलाइ पनि वार्तामा आउन दबाव पर्नेछ।

मे महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिए पछि राहत महसुस गरेको युक्रेनका लागि एफ-१६ विमान हात लागेपछि थप हौसला मिल्नेछ।

अमेरिकी हतियारले आफ्नो भूमिमा युक्रेनले आक्रमण गर्दैन र युक्रेनी हतियारले खासै नोक्सान गर्न सक्दैन भनेर ढुक्क भएको रूसले युक्रेनको सीमा छेवैमा सेना भेला गरेर खार्किभ सहरमा आक्रमण गर्न थालेपछि बाइडेनले रूसभित्र पनि अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि नै अमेरिकाले युक्रेनलाई धेरै सहयोग गरे अमेरिका रूससँग युद्धमा तानिने र तेस्रो विश्वयुद्ध सुरू हुन सक्ने भनेर बाइडेन सचेत थिए। रूसले केही दिनमै पूरै युक्रेन कब्जा गर्ने ठानेर अमेरिकाले युक्रेनलाई छापामार युद्ध लड्न सिकाउने सोचेको थियो।

रूसले तुरून्तै युक्रेन कब्जा गर्न सकेन। त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिन थाले। मार्चको अन्त्यसम्म रूस किभ बाहिरबाटै फर्किन बाध्य भयो। सन् २०२२ अन्त्यसम्म त युक्रेनले खार्किभ र खेरसन सहर रूसबाट सजिलै खोसेको थियो।

बाइडेनले युक्रेनलाई हतियार दिए पनि पुटिनले युद्ध हार्ने स्थिति आयो भने आणविक हतियार प्रयोग गर्न सक्ने भनेर ढिला गरी मात्रै दिन्थे। रूसले युक्रेन कब्जा गर्न नसकोस् तर युद्ध पनि नहारोस् भनेर सन्तुलन मिलाएर अमेरिकाले हतियार दिइरहेको थियो।

अमेरिकाले यसरी हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र आक्रमण नगर्ने सर्त राखेर दिएको थियो। त्यसै अनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले अमेरिकी हतियारले रूसी सेनामाथि आक्रमण गर्थ्यो।

तर अमेरिकाले आफ्ना हतियार रूसी भूमिभित्र पनि प्रयोग गर्न अनुमति दिएपछि रूसभित्र रहेका धेरै एस ३०० र ४०० मिसाइल डिफेन्स सिस्टमहरू युक्रेनले ध्वस्त पारेको थियो।

विस्तारै एफ-१६ लडाकु विमान पनि आक्रमणमा प्रयोग गर्न थालेपछि युक्रेनलाई थप सफलता मिल्न सक्नेछ।

भर्खरै

सम्बन्धित खबर

Language »