सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली कांग्रेसबाँकेले पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवायो


नेपालगञ्ज, नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । आज ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

पार्टीका दिवंगत नेताहरुको जन्मजयन्ति र स्मृति दिवसहरुमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले औपचारिकसंगै विभिन्न सामाजिक एवम् रचनात्मक कार्यहरुलाई प्राथमिकता दिँदै आएको छ । यसैक्रममा संविधान पिता स्वर्गीय कोइरालालाई स्मरण गर्दै आज निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । गौडेलले पार्टीलाई सामाजिक सेवाभावमा पनि जोड्ने उद्देश्यका साथ यस प्रकारका कार्यक्रम गर्दै आइरहेको बताए । सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताए । “जहाँ दुःख छ, जहाँ पीडा हुन्छ, जुन ठाउँमा विपद आइपर्छ, त्यहाँ कांग्रेस उभिनुपर्दछ,” गौडेलले भने-“यही मन्त्रका साथ लाग्न नेता कार्यकर्तालाई आग्रह गर्दछु ।” निलसागर सेवा आश्रमले सहाराविहिनहरुलाई सेवा प्रदान गरेर पूण्य काम गरिरहेको गौडेलले बताए ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् नेपाल सरकारका पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गर्दै कोइरालालाई प्रधानमन्त्री पाउनु बाँकेबासीका लागि अहोभाग्य भएको बताए । कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी), जिल्ला सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यालय सचिव अमित कँडेलले जानकारी दिए । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

यसैबीच स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा बृक्षारोपण गरिएको हो । पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्य मेघराज ओली, उमा थापा, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतको उपस्थिति थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »