सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि!

काठमाडौं।  पर्वतका विभिन्न स्थानमा एक वर्षको अवधिमा ७ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।

मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। 

पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको पाइएको बताए।

‘अर्को बाघसँग जुँधेर घाइते भई लामो समय उठ्न नसकेको, उठेपछि सिकार गर्न नसकेर भौंतारिँदै बस्ती आएको जस्तो देखियो। पोष्टमर्टम गर्दा शरीरमा हड्डी र छालामात्रै थियो,’ डा.श्रेष्ठले भने, ‘उसको शरीरको विभिन्न भागमा दुई हप्ता जति पुरानो, गहिरो चोट छन्। एउटा तिखो दाँत भाँचिएको रहेछ। ईलाका कायम गर्नेक्रममा अर्को बाघसँग जुँधेर हारेको हुनसक्छ।’

बाघको पछाडिको भाग र टाउकोमा आलो चोट भेटिएको छ। भैंसीको घाँटीमा चोट छ।

श्रेष्ठकाअनुसार भौंतारिँदै गोठमा पुगेको बाघ सुरूमा सबै शक्ति लगाएर भैंसीको घाँटीमा झम्टिएको र लगत्तै भैंसी ऊमाथि जाइलागेको हुनसक्छ।

‘ऊ भोकाएको थियो, भैंसी देख्नासाथ झम्टिहाल्यो। भैंसीले पहिले उसको पछाडिको भागमा हान्यो अनि टाउकोमा हानेर भक्लक्कै पारिदिएको हुनसक्छ,’ श्रेष्ठको अनुमान छ, ‘बाख्रा भइदिएको भए मारेर खानसक्थ्यो होला। परिदियो भैंसी। नजिकै भएकाले दाम्लोले बाँधिएको अवस्थामा पनि भैंसीले जोडले हान्न सक्यो। ठाउँमै लागेर बाघ ठहरै भयो होला।’

घटनाको सूचना पाएर निकुञ्जको टोली पुग्दा प्रतापपुरस्थित बलबहादुर राईको गोठमा भैंसी घाइते अवस्थामा सुतिरहेको र बाघ छेउमा मृत अवस्थामा पल्टिएको भेटिएको थियो। मृत बाघको शरीरमा भैंसीको गोबरसमेत थियो।

बाघको पोष्टमर्टमपछि थप परीक्षण गर्न नमूना लिइएको छ। अन्य केही रोग पनि थियो कि भनेर पत्ता लगाउन उक्त नमूनाको परीक्षण गरिने उनले बताए। तर मृत्युको कारण अरू नभएको दाबी उनको छ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघहरू बस्तीतिर छिर्ने गरेको बताउँछन्।

‘यो कमजोर भएर अरू बाघसँग प्रतिस्पर्धा गर्न नसकेपछि बस्ती छिरेको थियो होला। भैंसी ऊभन्दा तगडा परेर आफै मर्नपुग्यो,’ तिवारीले भने। 

मृत बाघ करिब ८ वर्षको भाले रहेको अनुमान गरिएको छ। बाघको आयु उसको दाँतको अवस्था हेरेर अनुमान गरिन्छ। 

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »