सरोज कुमार तामाङ
वर्गसंघर्ष र अन्तरसंघर्ष कुनैपनि कम्युनिष्ट पार्टीको निम्ति रथको दुई पांग्रा हुन् । जनवादी क्रान्तिमा वर्गसंघर्ष लक्ष्य हो भने अन्तरसंघर्ष कक्ष हो । हामीले वर्गीय समाजमा लक्ष्य मात्र निर्धारण गरेर वर्गको अन्त्य गर्न सक्दैनौं । त्यसका निम्ति कक्षको भूमिका पनि निर्णायक हुन्छ । जस्तै: एक जना भिखारीले एकबर्षभित्र कार चढ्ने लक्ष्य राख्ला त्यो ठिक हो, राख्न पाइन्छ । त्यसमा हाम्रो आपत्ति होइन् । हाम्रो आपत्ति कहाँ हो भने लक्ष्य अनुसारको उसको कक्ष कस्तो छ भन्नेमा हो । यदि उसको दिनको आम्दानी सय रूपैयाँ छ भने के उसले एक बर्षभित्र उसले खोजेको कार चढन् सक्छ ? प्रश्न यहाँ हो । दिनमा सय रूपैयाँ आम्दानी गर्नु उसको कक्ष हो तर, लक्ष्य भने एक बर्षभित्र कार चढ्नु हो । हो, यसैलाई कम्युनिष्ट पार्टीभित्र लक्ष्यलाई रणनीति र कक्षलाई कार्यनीति भनिन्छ । अर्को शब्दमा कक्षलाई न्युनतम कार्यक्रम र रणनीतिलाई उच्चतम कार्यक्रम पनि भनिन्छ ।
माथिका दुई उल्लेखित शब्दहरू मध्ये समाजवादको संक्रमणकालीन अवस्थाको जनवादी क्रान्तिमा वर्गसंघर्ष रणनीति हो भने अन्तरसंघर्ष कार्यनीति हो । यो हाम्रो अहिलेको उच्चतम कार्यक्रम समाजवादी व्यवस्थासम्म चालु रहन्छ तर त्यो बेला यी कुराहरू शान्त, सुदृढ र प्रगतिशील हिसाबले चलेको हुन्छ जसले गर्दा साम्यवादको विकास गर्न मद्दत मिल्दछ । यी दुईको परस्पर सम्बन्धबिना उदेश्य हासिल गर्न सकिँदैन् । राज्यद्धारा सृजित वर्गसंघर्षलाई अन्त्य गर्न अपनाइने साम्यवादी नीतिहरूलाई कुनैपनि मुलुकको वर्तमान परिस्थितिमा लागू गर्न सर्वप्रथमत: मार्क्सवाद-लेनिनवादको सर्वहारावर्गीय चिन्तनमा आफूले आफैमा निखारपन ल्याउनु पर्दछ । त्यसका निम्ति कुनैपनि कम्युनिष्ट पार्टीभित्र देखिने आदर्शवाद, संशोधनवाद, अधिभौतिकवाद, जडसुत्रवाद र विसर्जवादका विचार र चिन्तनबाट मुक्त हुन हामीले अन्तरसंघर्षका कार्यक्रमहरू निरन्तर चालु राख्नु पर्दछ । यदि हामीभित्रै सर्वहारावर्गीय चिन्तनको ठाउँमा वर्ग सम्झौता र वर्ग समन्वयको पछेउरीले ठाउँ लिन थाले, त्यो कम्युनिष्ट पार्टी नाम मात्रको हुनेछ र तिनको अस्थित्व आम जनसमुदायहरूले कालान्तरमा नामेट पार्नेछ किनकि जनताको ताजा वर्गीय जनादेश विरूद्ध जाने छुट हामी कम्युनिष्टहरूलाई छैन् ।
हामीले अन्तरसंघर्षको क्रममा मार्क्सवादी-लेनिनवादी अडान, दृष्टिकोण र तरिका प्रयोग गर्ने सम्बन्धमा आत्म-विकास गर्नुपर्छ, सर्वहारावर्गीय क्रान्तिकारी रणनीति र कार्यनीति सम्बन्धमा आत्म-विकास गर्नुपर्छ, पार्टीभित्र वर्गसंघर्षको उच्चतम लक्ष्यलाई कायम राख्न विकार विचार र दृष्टिकोण विरूद्ध आलोचना र आत्मालोचना गर्ने प्रगतिशील प्रवृत्तिको विकास गर्नुपर्छ, कठिन परिस्थितिमा पनि जनतासँग आत्मियता बढाउने पद्धतिको विकास गर्नेमा आत्म-केन्द्रित हुनुपर्छ । यसको मतलव कक्षको पाठ्यक्रम प्रष्ट नभई लक्ष्यलाई मार्गनिर्देश गर्न सकिँदैन् । पार्टी-अन्तरसंघर्षका कक्षाकोठाहरू नै प्रतिक्रियावादी फासिष्टहरूले भर्न थाले भने त्यो बेला कसरी सर्वहारावर्गीय मुद्दाहरूलाई हामीले अनुमोदन गर्न सक्छौं र ? पार्टी-अन्तरसंघर्ष भनेकै फोहोर र घृणित शासकवर्गहरूको विचारहरूलाई काँटछाँट गर्दै र विशुद्ध वर्गसंघर्षको मुद्दा उठाउँदै समाजवादको प्रथम चरण जनवादी क्रान्ति सम्पन्न गर्नु हो । कम्युनिष्ट पार्टीहरू भनेका कुनैपनि मुलुकमा वस्तुगत साम्यवादी नीतिहरू लागू गर्ने प्रारम्भिक चरणका जनवादी पाठ्यक्रम विकास केन्द्र हो ।
तर, यति भनिरहदाँ हामीले हाम्रो मुलुकको वस्तुगत नियमहरूसँग साक्षात्कार हुँदै अन्तरसंघर्षको माध्यमबाट वर्गसंघर्षको मुद्दाहरूलाई उजागर गरेका छौं त ? प्रधान सवाल यहीनेर हो । आजको नेपाली कम्युनिष्ट पार्टीहरूभित्र वर्गसंघषको प्रधान बिषयलाई अघिल्लो मोर्चामा राख्दै संशोधवाद र प्रतिक्रियावाद विरूद्ध अन्तरसंघर्षका कार्यक्रमहरू निरन्तर संचालन गर्दै आएका छौं त ? वास्तवमा अहिले यो बिषयहरूमा हामीहरू चुक्दै आएका छौं । त्यो वस्तुनियमहरूले हामीलाई बिना आवाज बताउँदै आएका छन् ।
एकातिर, जनताको बहुदलीय जनवादी शक्तीहरूले आफैलाई सर्वहारा श्नमजीवीवर्गहरूको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी सम्झने तर, अर्कोतर्फ भने ती सर्वहारा र श्नमजीवीवर्गहरू पार्टीबाट पलायन हुँदै जाने जुन परिपाटी अहिले सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपतिवर्ग र वैदेशिक एकाधिकार पूँजीवादका प्रतिक्रियावादी फासिस्टहरूले सृजना गर्दै आएका छन्, त्यो निन्दनीय छ । यसको मूल कारण हामीले वर्गसंघषका कार्यक्रमहरूलाई छाडेर नव-उद्धारवादको साम्राज्यवादी कित्तामा समाहित हुँदैछौं । नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीहरू सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपतिवर्गहरूले भरिभराउ हुँदैछन् ।
हाम्रा साम्यवादी विकास केन्द्रहरू सामन्तवाद र साम्राज्यवादका गाईगोठहरूमा परिन्त भएका छन् । हामीहरू दूधको आशमा साम्राज्यवादका प्रतिक्रियावादी-फासीवादी र अर्ध-फासीवादीहरूसँग मितेरी साईनो गाँस्दैछौं । पार्टीभित्र ती प्रतिक्रियावादी शक्तिहरूको चौतारी निर्माणले गर्दा आज हामी आम-जनसमुदायहरूसँग सम्बन्ध विच्छेद गर्न बाध्य हुँदै छौं । यो हुनुमा वर्गीय समाजका वर्गशत्रुहरूसँग करारनामा गर्नु हो । कम्युनिष्ट पार्टीहरूभित्र सर्वहारावर्गीय चिन्तनलाई लिपीवद्ध गर्न छाडेर सामन्ती र साम्राज्यवादी कार्य सम्पादन गर्नु ठिक होइन् ।
हामी सामाजिक मुक्तिको पाइला बढाउन खोज्नेहरू मार्क्सवादी-लेनिनवादी विचार, दृष्टिकोण र अटल विश्वव्यापी सर्वहारावर्गीय सिद्धान्तबाट च्युत हुँदै अन्तरसंघर्षका कार्यक्रमहरूलाई प्रतिक्रियावादी फासिष्टहरूको धुलो टक्टकाएर उसैलाई चम्किलो बनाउने ध्याउन्नमा दत्तचित्त भएर लाग्दैँछौं ।
त्यसैले, अन्त्यमा हामीले के दृढ संकल्प लिनु सक्नु पर्यो भने हाम्रा सर्वहारावर्गीय विचार र आस्थाहरूमा कहिकतै अवरोध नहोस्, विशुद्ध जनताको निम्ति समर्पण हौं, तबमात्र साम्यवादको निर्विकल्प लक्ष्य हासिल गर्न सक्छौं ।