सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपाधिमा ह्याट्रिक गर्ने नेपालको लक्ष्य 

काठमाडौं ।  सन् २०१५ मा नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गरेको थियो। भूकम्पका कारण दशरथ रंगशालामा क्षति पुग्दा नेपालले साफ यू-१९ एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरेको थियो। 

विमल घर्तिमगर, अन्जन विष्ट, सुनिल बल, तेज तामाङ, अनन्त तामाङ, हेमन्त थापामगर लगायतका खेलाडीको स्वर्णीम पुस्ताले फाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै सन् २०१५ पहिलो संस्करणको उपाधि घरेलु मैदानमा जितेको थियो।

सन् २०१७ मा नेपालले साफ यू-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको प्रतियोगितामा पनि उत्कृष्ट खेल्यो। भुटानमा भएको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा भारतमाथि २-० गोलको जित निकालेपछि नेपाल च्याम्पियन बनेको थियो। सो खेलमा नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका थिए। अभिषेक रिजाल, रेजिन सुब्बा, रोमन लिम्बू, कप्तान तथा गोलकिपर अर्पण कार्कीसहितको टोलीले भुटानसँग हारे पनि अरु टोलीलाई हराएर उपाधि जितेको थियो।

सन् २०१९ को प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरियो। २०२२ यू-२० च्याम्पियनसिपको नाममा भएको प्रतियोगितामा नेपाल लिग चरणमा तेस्रो हुँदा फाइनल पुग्न सकेन।

सन् २०२३ मा प्रतियोगिता फेरि यू-१९ च्याम्पियनसिपमा आयोजना भयो। घरेलु मैदानमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेन। नेपाललाई सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भयो।

सन् २०२४ मा फेरि प्रतियोगिता साफ यू-२० च्याम्पियनसिपमा आयोजना भयो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ। समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टीमा हरायो। 

अब नेपालले बुधबार दिउँसो एन्फा कम्प्लेक्समा उपाधिको ह्याट्रिक गर्नका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीमा राष्ट्रिय टोलीको अनुभव भइसकेका समिर तामाङ, सिमान्त थापा लगायतका खेलाडी छन्। यी खेलाडीबाट नेपाली टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक उर्जन श्रेष्ठले बताए।

उनले एन्फा कम्प्लेक्समा खेल हुँदा फाइदा र घाटा दुवै हुने बताए।

‘दशरथ रंगशालाको जति समर्थक एन्फा कम्प्लेक्समा पाउँदैनौं,’ श्रेष्ठले भने, ‘तर हामीले सबै तयारी यही मैदानमा गरेका छौं। त्यो हाम्रो लागि फाइदा हो। किनभने कतिपय खेलाडीलाई दशरथ रंगशालाम अनुभव छैन।’

उनले सेमिफाइनल सम्मको खेलमा टोलीको राम्रो र नराम्रो पक्ष केलाएको बताउँदै फाइनलमा सुधार ल्याउने बताए।

कप्तान कुशलले पनि नेपाल उपाधिका तयार भएको बताए। उनले बंगालदेशसँग यसअघि पनि समूह चरणमा खेलिसकेकाले खेल्न सकिने बताए।

यता बंगलादेशका प्रशिक्षक मारुफुल हकले नेपाली टोली बलियो भए पनि आफूहरू फाइनलमा चुनौती पेश गर्न तयार भएको बताए।

‘हामी अहिलेसम्म सही दिशामा छौं। यसले हामीलाई च्याम्पियन बन्नतर्फ अघि बढाइरहेको छ,’ उनले भने।

सेमिफाइनमा भारतलाई पराजित गरेको बंगालदेशले फाइनलमा भने नियमित कप्तान तथा गोलकिपर साब्रोन बिना नै खेल्नेछ। उनको स्थानमा आसिफले कप्तानी गर्नेछन्।

भर्खरै

सम्बन्धित खबर

Language »