सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली जनवादी क्रान्तिको औचित्य

सरोज कुमार तामाङ

नेपाली समाजको वस्तुगतस्थिति अर्ध-सामन्ती र अर्ध-उपनिवेशी अवस्थाको रहेको छ । यसले गर्दा समाजको आधारभूत स्थितिमा केही परिवर्तनको आभाष जनताले गर्न सकिएको छैन् । जनता निराश अवस्थामा हुनुपर्ने कारणहरू मध्ये हामीले बोकेका हाम्रा जनवादी क्रान्तिको कार्यक्रममा समाजको वास्तविकता र गुणात्मक परिवर्तनको लक्ष्य सुस्पष्ट नभएर हो । अहिलेको अर्ध-सामन्ती र अर्ध-उपनिवेशी अवस्थाको सृजना कहिलेबाट शुरू भएको हो ? यो बारेमा एकपटक विचार विमर्श गरौं । पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरणसँगै एकीकृत, केन्द्रिकृत र पितृसत्तात्मक सामन्ती व्यवस्थाले जन्म लियो । राष्ट्रको भौगोलिक स्थितिलाई एकीकृत गरेतापनि त्यो भौगोलिक एकताभित्र रहेका बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक जनताहरूको स्थिति झन दयनीय हुँदै गए । यो क्रम चलिरहदाँ राष्ट्रियता बहुत कमजोर हुन थाल्यो किनकि राष्ट्रियता मजबुद हुन त्यो मुलुकभित्र रहेका जनताको आधारभूत स्थितिमा पनि सुधार हुँदै जानुपर्छ जुन आधुनिक नेपालको चरणसँगै बढदो होइन कि घट्दो क्रममा देखिँदै गए ।

 आधुनिक नेपालको जन्मले पहिलेदेखि नै उत्पादक शक्तिमा निहित उत्पादनका सम्बन्धहरू सिमित सामन्तवर्गहरूले हत्याएको कारण श्नममाथि दमनको स्थिति त्यहीबाट शुरू भयो, नभए मल्लकालीन र लिच्छिविकालीन बेलामा भएको सम्पन्न नेपालको अर्थव्यवस्था त्यसपछि किन खस्किदैँ गयो भन्ने एक प्रमाण यही हो । श्नमजीवी हातहरू खाली हुँदै गर्दा उत्पादन र उत्पादकत्वमा कमीको कारण राज्यको राष्ट्रिय पूँजी निर्माणमा अवरोध पैदा भयो, फलस्वरूप: राष्ट्र र राष्ट्रियता कमजोर हुँदै गए । यसले भएका स्रोतसाधनहरू पनि एकीकरणको नाममा नष्ट हुँदा राष्ट्र दयनीय अवस्थामा पुगे । तर, राष्ट्रियताको मिठो भजन मण्डली भने शक्तिशाली तवरले गीत संगीत मार्फत ती निमुखा गरिब जनताको कानसम्म पुर्याए । उत्पादनशील जनतालाई हौसला प्रदान गर्नुपर्नेमा उल्टै डर र धम्कीको भाषाले केन्द्रिकृत सामन्तवर्गहरूले लुट्दै आए ।

 यसैबीच, ब्रिटिश इस्ट इन्डिया कम्पनीको जन्म भारतमा शुरू भयो जसले ब्रिटिश साम्राज्यवादको नीतिलाई आफ्ना वरिपरिका कमजोर सामन्तवादी राष्ट्रहरूमा फैलाउँदै गए । ब्रिटिश साम्राज्यवादको दमनकारी नीति तथा कार्यक्रमहरू मान्न नखोज्ने ती राष्ट्रहरूको हैसियत धुलोपिठो पार्न सैनिक हमलाहरू गर्दै गए । योबाट नेपाल पनि अछुतो रहन सकेन् । त्यो बेलासम्म नेपाल पूर्ण केन्द्रिकृत, निरंकुश, पितृसत्तात्मक, सामन्ती व्यवस्थामा थियो तर, जब ब्रिटिश साम्राज्यवादले भारतमा आफ्नो प्रभुत्व र बर्चश्व राखे तब कमजोर राष्ट्रियताको नेपाल पनि उसको सामु अघोषित हिसाबले झुक्न बाध्य भए । यसका निम्ति विभिन्न खाले राष्ट्रघात-जनघात सन्धी सम्झौताहरू गर्दै गए । अब भने ती ब्रिटिश साम्राज्यवादका बाछिटाहरू नेपालभित्र पर्न थाले ।

 हो, त्यही बेलादेखि सामन्तवाद खुम्चिएर अर्ध-सामन्ती प्रथा र साम्राज्यवादको उदयले अर्ध-उपनिवेशीको स्थिति सृजना भयो । जे भएपनि हिजोसम्म सामन्तवादले ग्रसित नेपाली जनता अब साम्राज्यवादले पनि जनता दमनकारी नीतिको दुवै हिस्सा बराबर बाँडे । यसले सर्वहारा र श्नमजीवी नेपाली जनताको दयनीय स्थितिलाई थप कमजोर पार्यो । गलत साम्राज्यवादी संस्कृतिको विकास शुरू हुन थाले । समाजमा उसैको मान सम्मान हुन थाले जसले साम्राज्यवादी नीति अख्तियार गरेको हुन्थ्यो । श्नमजीवी नेपाली जनता भन्दा भिन्न देखाउँन ती देशी सामन्तवादका मतिहारहरूले साम्राज्यवादका लवाइ खवाइ नक्कल गर्दै गए । यसले नेपाली मौलिक उत्पादनका हाम्रा उत्पादन सम्बन्धहरूलाई थप प्रदुषित पार्दै लगे । अनि हाम्रो दैनिकी ती साम्राज्यवादी शक्तिका उत्पादनहरू प्रयोग गर्ने दर्जामा यसरी पुर्याए जसको फलस्वरूप आज पनि हामी नेपाली उत्पादन भन्दा साम्राज्यवादी उत्पादनलाई बढि विश्वास गर्छौं । उनीहरूको भाषा बोले सभ्य भनि ठान्छौं । खेतबारीमा काम गरे गरिब भन्छौं । साम्राज्यवादी मुलुकहरूमा पुगेर जस्तै काम गरेपनि इज्जत हुने परिपाटीको विकास हुँदै गयो । देशभित्रै केही गरे, मान सम्मान नपाउने भो । विदेशीय उन्नत भन्न थाले । स्वदेशको उत्पादन प्रयोग गरे आर्थिक कमजोरीको संज्ञा मिल्न थाल्यो तर, विदेशको जस्तै कमसल माल प्रयोग गरेपनि समाजले हेर्ने दृष्टिकोण आधुनिक र सभ्य भए । त्यस्ता अर्ध-सामन्ती र अर्ध-उपनिवेशी सोचको कारण मुलुकको वर्तमान र भविष्य झन-झन गम्भीर बन्दै गएको छ ।

त्यसैले, नेपाली मौलिकताको सामाजिक चरित्रलाई उजागर गर्न जननेता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवादले वर्तमान नेपाली समाजको आधार र त्यसमाथि निर्माण भएको आधेयको सही चित्रण प्रस्तुत गर्नु भएको छ । यो कुनै पार्टी विशेष, समाज विशेषको विश्लेषण नभएर सामन्तवाद र साम्राज्यवादका विरूद्ध लाग्ने सुनौलो भविष्यको आशातित राजनीतिक हिसाबले उत्पीडन, आर्थिक हिसाबले शोषण र साँस्कृतिक हिसाबले अतिक्रमित सम्पूर्ण मुक्तिकामी नेपाली जनताको वास्तविकताको प्रतिबिम्ब हो । यसलाई संकोचित दृष्टिले हेर्नुको सट्टा वृहत नेपाली सामाजिक क्रान्तिको नजरबाट हेर्दा राम्रो हुन्छ । आधुनिक नेपालको निर्माणसँगै जनताको आधारभूत स्थितिमा अवरोह पैदा हुनु र त्यसले कालान्तरमा ब्रिटिश साम्राज्यवादीसँग मितेरी साईनो स्थापित गर्दै जनताको रगत थप चुस्नुले वर्तमान जनताको दयनीय स्थिति हुनु हो । त्यसैले, सामन्तवाद र साम्राज्यवादको विरूद्ध सामाजिक क्रान्ति गर्नु आजको प्रथम र अनिवार्य कर्तव्य हुन आउँछ । व्यवस्था परिवर्तनसँगै नेपाली जनताको आधारभूत अवस्थामा परिवर्तन नहुनु शोषण प्रथाको रूप फेरिनु तर शोषणको सार भने जिवित्तै रहनु हो ।

आज, हिजोको ब्रिटिश साम्राज्यवादको ठाउँ भारतीय विस्तारवादले लिएको छ । उसले अझ नेपाली राष्ट्रियता र यहाँका जनताको स्थितिलाई गम्भीर धक्का पुर्याउँदै आएको छ । उ अहिले यो मुलुकको कुनाकुना सम्म पुगेर नेपाली जनताको शोषण गर्ने स्थितिमा छ । अबको लडाई वर्गीय मात्र नभएर ती गरिखानेवर्गलाई शोषणको चक्करमा सदैव राख्न खोज्ने यहाँका सामन्तवर्ग र ती सामन्तवर्गहरूलाई माथिबाट आशीर्वाद दिने भारतीय विस्तारवादको विरूद्ध गरिने राष्ट्रिय स्वाधीनताको प्रश्न पनि हो । यो युगको जन्म लेनिनको रूसबाट शुरू हुँदै चिनियाँ जनवादी क्रान्तिसम्म आइपुगेको छ भने नेपालको सन्दर्भमा पनि यही लागू हुन्छ तर यान्त्रिक साम्यवादी भएर होइन् । हामीले अहिलेसम्म गरिएका नेपाली क्रान्तिका पाटोहरूमा कुनै न कुनै हिसाबबाट यान्त्रिक पक्षबाट चल्न खोजेको र त्यो असफल पनि भए । जस्तै: दशबर्षे कथित माओवादी जनयुद्ध चिनियाँ जनयुद्धको यान्त्रिक नक्कल थियो । यसले नेपाली सामाजिक क्रान्तिको मौलिकता पकड्न सकेको थिएन् । यो बाहेक झापाली विद्रोहसँगै जन्मिएको कोके र पछि सांगठनिक हिसाबले विकास हुँदै आएको तत्कालीन नेकपा (माले)ले भने मदन भण्डारीसम्म आइपुग्दा आफ्नो नेपाली मौलिकताले भरिएको सामाजिक क्रान्तिको खाका जनताको बहुदलीय जनवादको माध्यमबाट प्रस्तुत भए । जनताको बहुदलीय जनवाद कुनै नेतृत्वको इच्छा र मनोदासको कारण जन्मिएको नभएर यो त नेपाली सामाजिक क्रान्तिको लामो अभ्यासको क्रममा सर्वहारा श्नमजीवी क्रान्तिकारी व्यवहार र त्यसलाई मार्गनिर्देश गर्ने मार्क्सवादी-लेनिनवादी विश्वव्यापी मान्यताको आधारमा सृजना भएको हो ।

यो नै अहिलेसम्मको नेपाली सामाजिक क्रान्तिको विशेषता पनि हो । यसले सामन्तवाद र साम्राज्यवादको विरूद्ध गरिने चिनियाँ क्रान्तिको यान्त्रिक नक्कल नभएर नेपालको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै थप विशेषता सहितको आफ्नै जनवादी क्रान्ति हो । तर, समयसापेक्षा भने हुँदै जानुपर्छ । त्यसका निम्ति तमाम् नेपाली सर्वहारा र श्नमजीवीवर्गहरूको क्रान्तिकारी व्यवहार र मार्क्सवाद-लेनिनवादको आलोकमा हामीले हामी आफैलाई सर्वहारा साँस्कृतिक क्रान्तिको स्थितिमा रूपान्तरण गर्दै लैजानु पर्छ ।

नेपाली जनवादी क्रान्तिको राजनीति, नौलो जनवादी राजनीति हो । नौलो जनवादी राजकीय नीतिहरू भनेका सामन्तवाद र साम्राज्यवादको विरूद्ध सामाजिक क्रान्तिको दौरानमा मोर्चा कस्ने सर्वहारा-श्नमजीवीवर्गहरू, सम्पूर्ण किसान, देशभक्त, जनप्रेमी, न्यायप्रेमी, बुद्धिजीवीवर्ग, कलाकार, शिल्पकार, निम्न प्रगतिशील पूँजीपतिवर्ग लगायत जनवादी क्रान्तिको मोर्चामा आवद्ध उपवर्ग र प्रगतिशीलवर्गहरूको अस्थित्व हो । यो राजकीय मोर्चाले सामन्तवाद र साम्राज्यवादका आधार र अवशेषहरूलाई राजकीय क्षेत्रहरूबाट निर्मूल गर्नुको साथै नेपाली मौलिक अर्थ-व्यवस्थाको जग बसाउनु हो जहाँ बेरोजगार युवाहरूले स्वाभिमानी तवरले देशभित्रै जीउने आधार पाऔस् । त्यसका निम्ति स्वदेशी पूँजीपतिवर्गहरूलाई प्रोत्साहन गर्दै उद्योगधन्दा कलकारखानाको विकास गर्नु हो ।

 यो भनेको पूँजीवादको विकासै हो तर यसको नेतृत्व राजकीय हिसाबले सर्वहारा श्नमजीवीवर्गको विश्वासिलो दल कम्युनिष्ट पार्टीले गर्ने हो । यो कुनै पूँजीवादको विकास नमूना होइन् । यसमा सर्वहारावर्गीय पूँजीवादको विकास किन पनि आवश्यक हो भने नेपाली जनताको आधारभूत आवश्यकता पूर्तिको निम्ति स्वयम् नेपाली पूँजीपतिवर्गहरूले स्थापित उद्योगधन्दा कलकारखानाबाट सम्भव हुनसक्छ तर, ठूल्ठला परियोजनाहरू भने सर्वहारावर्गीय राज्य नियन्त्रित हुनु आवश्यक हुन्छ किनकि वितरणको स्थिति व्यक्तिगत मुनाफाको आधारमा नहोस् । यदि व्यक्तिगत मुनाफामा वितरणको हिस्सा जाने हो भने फेरी घुमाई फिराई त्यही सामन्तवाद र साम्राज्यवादका प्रस्तोताहरू जन्मिने हुन् । जसको विरूद्ध क्रान्ति गर्यौं, फेरी उसैले अड्डा जमाउन थाल्यो भने हाम्रो सामाजिक क्रान्तिको अन्तिम स्वरूप साम्यवादमा प्रवेश गर्न सक्दैनौं । हामी वर्गविहिन समाजको निर्माणमा आवद्ध भएको हुँदा हाम्रा प्रत्येक क्रान्तिकारी चरणमा कदमहरू पनि नेपाली साम्यवादी नीतिहरूबाटै मार्गनिर्देश हुनुपर्छ । समाजको योजनावद्ध विकासमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको साम्यवादी नीतिहरू लागू गरिनुपर्छ ताकि ‘प्रत्येकबाट उसको योग्यता अनुसार र प्रत्येकलाई उसको आवश्यकता अनुसार’ भन्ने साम्यवादी विश्व दृष्टिकोणको अनुभूति जनताले गर्दै जाउन् ।

अहिले हामी नेपाली साम्यवादको प्राम्भिक चरणमा भएको हुँदा तिक्तताको बीचमा पनि लिने नीति र कार्यक्रमको आधारमा सम्पूर्ण क्रान्तिकारी तप्काहरूसँग मोर्चा कस्नुको विकल्प रहदैँन् । जनवादी क्रान्ति कुनैपनि हालतमा एक्लैले सम्भव हुँदैन् । अझ नेपाल जस्तो भु-परिवेष्ठित मुलुकमा छिमेकी जनवादी मुलुक चीन र भारतीय कम्युनिष्ट पार्टीको साथ सहयोग अपरिहार्य हुन्छ । तर, बिडम्बनाको कुरो के रहेको छ भने हामी प्रगतिशीलवर्ग भनौदा विभिन्न सामाजिक दृष्टिका कम्युनिष्ट पार्टीहरूबीच बेमेलको स्थिति सृजना भएको छ । संसदलाई जनवादी क्रान्ति सम्पन्न गर्नको निम्ति उपयोग गर्नु पर्नेमा उल्टै कम्युनिष्ट शक्तिहरूबीच नै लडाई झगडाको स्थिति सृजना हुँदैछ । यो नेपाली जनवादी क्रान्तिको लागि सही वातावरण होइन् । यसले काँग्रेस लगायत दक्षिणपन्थ धारका रास्वपा, राप्रपाहरूलाई थप उर्जा प्रदान गर्दछ ।

 कतै जनवादी क्रान्तिको अंकुरण फुर्न नपाउँदै सेलाउने त होइन ? यसले नेपाली जनवादी शक्तिहरूलाई सशंकित तुल्याउँदैछ । अन्तसंघर्ष र वर्गसंघषको नाममा कतै हामी जनवादी शक्तिहरू नै त लक्ष्यलाई बिर्सेर भीडिरहेका छैनौं ? कतै उदारवादीहरूलाई चोख्याउने नीतिहरू त अबलम्बन गरेका छैनौं ? यी बिषयहरूमा चनाखो हौं । नेपाली जनवादी क्रान्तिलाई विस्थापित गर्न होइन, स्थापित गर्न एकजुट हौं । जनवादी क्रान्तिको मूल्य र मान्यता बिर्सेर कसैको अस्थित्व हुनेवाला छैन् । प्रतिक्रान्तिकारी शक्तिको विरूद्ध एकजुट हुनुपर्नेमा जनवादी क्रान्तिका शक्तिहरूबीचको लडाई कदापी भविष्यको निम्ति शुभसंकेत भने होइन् । यसले नेपाली जनवादी क्रान्तिलाई थप क्षति पुर्याउने बाहेक उन्नति प्रगति असम्भव छ । साम्यवादको प्रारम्भिक चरण जनवादी क्रान्तिको दौरानमा देखिँएका यस्ता दर्दानाक दृष्यहरूले आम कार्यकर्ताहरू र कम्युनिष्ट घटकहरूबीच तिक्तताको स्थिति पैदा हुनु गम्भीर समीक्षाको बिषय हुन आउँछ ।

भर्खरै

सम्बन्धित खबर

Language »