सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मौसम बिहान खुल्ने, दिउँसो घाम लाग्ने र अपराह्नपछि आकाशमा बादल देखिने भइरहेको

काठमाडौं। पछिल्लो एक घन्टामा देशभरी एक/दुई ठाउँमा छिटपुटबाहेक वर्षा भएको छैन।

मौसम पूर्वानुमान महाशाखाको वेभसाइटमा पछिल्लो बाह्र घन्टाको विवरण हेर्दा पनि विभिन्न भूभागहरूमा हल्का मात्रै वर्षा भएको देखिन्छ।

केही दिनयता काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँहरूको मौसम बिहान खुल्ने, दिउँसो घाम लाग्ने र अपराह्नपछि आकाशमा बादल देखिने भइरहेको छ। लगातार पानी पनि परेको छैन।

यसर्थ मनसुनी वायु र प्रणाली कमजोर हुँदै गएको हो भन्ने प्रश्न हामीले मौसमविदहरूलाई सोधेका छौं।

मौसमविद विष्णु घिमिरेले अक्टोबर २ सम्म मनसुन सक्रिय रहने हुँदा केही दिन खुल्दैमा प्रणाली कमजोर भएको भनेर बुझ्न नमिल्ने बताए।

उनकाअनुसार अहिले मौसम बिहान बेलुका सफा देखिनुका कारण मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्नु हो। मनसुनको समयमा यो रेखा उत्तर दक्षिण सरिरहन्छ।

‘उत्तरतिर सर्दा नेपालमा पानी पर्ने प्रणाली बलियो हुन्छ, दक्षिणतिर सर्दा पानी कम पर्छ। अहिले दक्षिणतिर सरेको छ त्यसकारण कम पानी परेको हो। पानी पार्ने प्रणाली नै कमजोर भएको होइन,’ उनले भने।

न्यून चापीय रेखा दुई तीन दिनमै नेपाल नजिक आउने सम्भावना नरहेकाले केही दिन यस्तै मौसम रहने घिमिरेले जानकारी दिए।

यद्यपि सेप्टेम्बरपछि मनसुन बाहिरिने प्रक्रिया सुरू हुने भएकाले तुलनात्मक रूपमा कमजोर भने हुने घिमिरेले बताए।

‘तर,पानी नै नपर्ने। घाम मात्रै लागिरहने हुँदैन। पानी पर्छ तर लगातार भारी वर्षा हुने सम्भावना चाहिँ केही दिनका लागि छैन,’ उनले भने।

अर्का मौसमविद् रोजन लामिछानेले पनि अझै दुई/तीन दिन भारी वर्षा हुने सम्भावना नरहेको बताए।

यसले प्रणाली केही कमजोर भएको देखिए पनि कमजोर भइहालेको र निष्क्रिय नै भइहाल्ने अवस्था नरहेको उनको भनाइ छ।

‘एक दुई दिनको पूर्वानुमान हेर्दा कमजोर भएको देखिन्छ, तै पनि भारी वर्षा हुने सम्भावना अझै रहन्छ,’ उनले भने।

मनसुनको पूर्वार्द्ध र उत्तरार्द्ध ध्वंसात्मक हुने खतरा पनि रहन्छ। यसमा मौसमविद लामिछानेले दुई वर्षअगाडि दसैंताका लगातार वर्षा भएको मनसुनी घटना स्मरण गरे।

‘मनसुन निस्कन खोज्ने र पश्चिमी वायुले पनि धकेल्ने हुँदा अत्यधिक पानी पर्ने प्रणालीको विकास हुन पनि सक्छ। एक/दुई वर्ष अगाडि दसैंमा ठूलो पानी परेको थियो। त्यो बेला त्यस्तै प्रणाली विकास भएको थियो,’ उनले भने।  

‘तर देशैभरी फैलिने र झरी पर्ने सिस्टम अहिले छैन, फेरि मनसुन नै कमजोर भएको भने होइन,’ मौसमविद् लामिछानेले भने।

मनसुनको समयमा प्रत्येक दिनको मौसम बदली भइरहने हुँदा लामो समयसम्मको प्रक्षेपण कठिन हुने पनि उनले बताए। 

उनकाअनुसार पानी रोकिनका लागि  निश्चित मापदण्ड हुन्छ। 

पहिलो, पश्चिमी वायु सक्रिय हुनुपर्छ। पूर्वबाट वायु कमजोर हुनुपर्‍यो। अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले विस्थापित गर्दै जानुपर्छ।

दोस्रो, हावामा मोइस्चर (जलवाष्प) को मात्रा कम हुनुपर्छ। 

माथिल्लो वायुमण्डलमा जेट स्ट्रिम तल्लो भूभागमा सर्ने लगायतका क्राइटेरिया पूरा भएपछि मात्रै मनसुन कमजोर भएको भन्न मिल्ने उनले बताए। 

उनलाई बिहान र दिउँसो घाम लाग्ने र साँझ परेपछि पानी पर्नुको कारण सोध्यौं।

लामिछानेले न्यून चापीय रेखा दक्षिणतिर सर्दा मनसुन धेरै सक्रिय नभएको बताए। तापक्रम मध्यम हुँदा जमिनमा हुने र मनसुनी वायुले ल्याउने मोइस्चरहरू माथि उठ्ने र वाष्पीकरण भएर बादल बन्दा अपराह्नपछि आकाश धुम्म हुने गरेको उनको भनाइ छ। 

‘त्यसले गर्दा बिहानको समयमा अलि खुलेको जस्तो हुन्छ, अपराह्न र साँझतिर बादल बन्दै जाने र ठूलो बादल बनेपछि पानी पर्नेसम्म पनि हुन्छ,’ उनले भने। 

मनसुनको अवधि बाँकी नै भएकाले मौसमको अहिलेको गतिविधि कायम रहिनरहने उनको भनाइ छ। 

यसपालि अहिलेसम्म मुलुकभरी १४०९.७ मिलिमिटर पानी परिसकेको छ। अर्थात् औसत वर्षाको ९५.३ प्रतिशत वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ। 

‘अक्टोबरसम्म मनसुनको अवधि बाँकी छ। यो अवधिमा पानी पर्ने र रोकिने भइरहन्छ। मनसुनी प्रणाली कमजोर नै भइहालेको छैन,’ मौसमविद् लामिछानेले भने। 

भर्खरै

सम्बन्धित खबर

Language »