सरोज कुमार तामाङ
मार्क्सवादको सृजनात्मक प्रयोग भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो, सिद्धान्त र व्यवहारको समुच्चय रूप हो, एक्काइसौं शताब्दीको उपनिवेश नीतिको विरूद्ध राष्ट्रिय स्वाधीनताको नीति हो । यसैलाई आधार मानेर आज हामी एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको वंशजको नागरिकताबारे केही कुराहरू राख्न मन लाग्यो । नेपाली समाजको अहिलेको वास्तविकता अर्ध-सामन्ती र अर्ध-उपनिवेशी चरित्र रहेको छ । यसको अर्थ हुन्छ कि यो मुलुकमा सामन्तवादको हावी र ती सामन्तवादलाई प्रयस दिने विशेषत: भारतीय विस्तारवादी साम्राज्यवादी नीति मूल कारक हो ।
यो नेपाली सर्वहारा र श्नमजीवीवर्गलाई राजनीतिक हिसाबले उत्पीडन, आर्थिक हिसाबले शोषण र साँस्कृतिक हिसाबले पिछडिएको बनाउने नेपाल-भारतबीच भएको १९५० को असमान सन्धी र त्यसलाई टेकेर गरिएका अन्य अपमानपूर्ण सन्धी सम्झौताहरू नै हुन् । जबसम्म यी सन्धी-सम्झौताहरू पञ्चशीलको आधारमा नेपाल हितानुकूल गर्न सकिदैँन, तबसम्म यो मुलुकले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको लक्ष्य प्राप्त गर्न सक्दैँन् । यस्तो अवस्थामा आज हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरू मुलुक छाड्न बाध्य हुनु परेको छ ।
यहाँ राजनीति गर्न भारतको घुमाउँरो साथ समर्थन चाहिन्छ, व्यापार व्यावसाय गर्न भारतीय विस्तारवादको आर्थिक सिन्डिकेटको सामाना गर्न सक्नुपर्छ, उद्योगधन्दा संचालन गर्न उनीहरूकै आशीर्वाद चाहिन्छ । यो अहिलेको व्यवहारिक तितो सत्य हो । यो नै नेपालको अहिलेको ठोस परिस्थिति हो । हामी नेपालीजनहरूलाई आफ्नो मुलुकको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायत हरेक जनजिविकाका सवालहरूमा विभक्त तुल्याएर हामीबीच नै जातीय, धार्मिक, भाषिक, सांस्कृतिक र भौगोलिक विवाद सृजना गर्न भारतीय विस्तारवादले अहम् भूमिका निर्वाह गरेको देख्दै गर्दा अब हामी नेपाली दाजुभाई तथा दिदीबहिनी जो देश विदेशमा बस्नु भएको छ, ती तमाम् राष्ट्रभक्त, देशप्रेमी, स्वाधीनप्रेमीहरू एक हुनुको विकल्प छैन् ।
हाम्रो लक्ष्य भनेको जनवादी क्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादको अधिकतम लक्ष्य प्राप्तिको निम्ति हो भने हाम्रो न्युनतम जनवादी क्रान्ति सम्पन्न गर्न समाजवादी मुलुक चीन, विश्व सर्वहारा श्नमजीवीवर्गहरूको सहयोग र कम्युनिष्ट पार्टीको मार्गनिर्देश बिना सम्भव छैन् । सर्वहारा श्नमजीवीवर्गको उन्मुक्ति मात्र आजको मार्क्सवाद होइन् । आजको मार्क्सवाद भनेको राष्ट्रिय मुक्तिको संग्राम पनि हो । यो बोल्शेभिक र चीनियाँ जनवादी क्रान्तिले सिकाएको पाठ हो । हाम्रो स्थिति पनि ठिक त्यही रहेको छ । यस्तो अवस्थामा आजको भारतीय विस्तारवादले सृजना गरेको उपनिवेशवादी नीतिबाट यो मुलुकलाई उन्मुक्ति दिलाउन विश्वभर छरिएर रहेका एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको साथ र समर्थनको खरो आवश्यकता हुन्छ ।
यहाँ भारतीयहरू कुनैपनि व्यापार व्यावसाय गर्न बिना रोकटोक आवत जावत गर्न १९५० को सन्धीले दिएको छ भने हाम्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भने एनआरएनको ट्यांगमा भिषा लिएर आउनु पर्ने देखिन्छ । यो विभेद नभै के होला ? आफ्नै मुलुकका जनताहरूलाई भिषाको प्रावधान तर विदेशी भारतीयहरूलाई भने यहाँ जे गर्न पनि छुट ! के यो भारतीय विस्तारवादी नीति अन्तर्गतको नेपाल हेपाह प्रवृत्ति भएन र ? अहिलेको नागरिकता ऐनले एनआरएन नेपालीहरूलाई राजनीति बाहेकका अधिकार दिने जुन कानूनी प्रावधान गरेको छ, त्यो अधुरो र अपुर रहेको छ । यो किन पनि हो भने यहाँ भारतीय शासकहरूले प्रत्यक्ष वा परोक्ष राजनीतिक जोडघटाउमा सहभागी जनाउने तर, हाम्रा आफ्नै नेपाली वंशका सन्तानहरूलाई भने ती चीजहरूबाट विमुख तुल्याउने ! यहाँका बैंक वित्तिय संस्था लगायत आर्थिक क्षेत्रमा भारतीय मूलका नागरिकहरूले बर्चश्व जमाउँदै जाने, राजनीतिक प्रभावमा भारतीय मुलका अंगीकृत नागरिकहरू राज्यको उप-प्रधानमन्त्रीसम्म हुने, यहाँका कुनैपनि राजनीतिक दलहरू र तिनका नेतृत्ववर्गहरूलाई भारतीय राजनीतिक प्रभावमा राख्ने, सांस्कृतिक हिसाबले भारतीय भक्तिको स्थुतिगान गाउन लगाउने, शिक्षा स्वास्थ्य लगायत नेपाली जनताको दैनिकीमाथि उनीहरूले प्रभावलाई सक्रिय तुल्याउने आदि क्रियाकलापहरूले के कालान्तरमा सिक्किम र काश्मीर जसरी भारतको एक प्रान्त बनाउने दिशा उन्मुख कार्यशैली त होइन् ? यो बिषयमा हामी एमालेजनहरू जसले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा ग्रहण गर्ने पार्टीले समाजवादको अधिकतम लक्ष्य प्राप्तिको निम्ति गरिने अहिलेको हाम्रो न्युनतम कार्यक्रम जनवादी क्रान्तिलाई सम्पन्न गर्न सर्वप्रथमत: यहाँका सामन्तवाद र साम्राज्यवादको आधार र अवशेषहरूलाई राजकीय र सामाजिक क्षेत्रहरूबाट निर्मूल गर्न आवश्यक छ ।
नेपाली जनवादी क्रान्तिको मौलिक विशेषताहरूमाथि प्रहार गर्ने ती बाह्य राष्ट्रिय स्वाधीनताको वर्गीय दुश्मन जो नेपाल-भारतबीचको १९५० को असमान र अपमानपूर्ण सन्धीबाट स्थापित भएकोले त्यसको बन्ध्याकरण गर्न देश विदेशमा रहने सम्पूर्ण नेपाली वंशका सर्वहारा र श्नमजीवीवर्गहरू एकजुट हुनुको विकल्प रहदैँन् । त्यसैले, यहाँको माटोसँग जोडिएका र कर्मको हिसाबले अहिले पराईको मुलुकमा पसिना बगाउने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उहाँहरूको विगतको वंशजको नागरिकता तुरून्त ब्यूँझाउनु पर्छ र राजनीतिक अधिकार पनि स्थापित गर्नु पर्छ । फेरी यहाँ सामन्तवादी र फासिष्टवादी चिन्तनले ग्रसितहरूबाट के प्रश्न उठ्न सक्छ भने एनआरएनहरूद्धारा राष्ट्रियतामाथि त खतरा हुँदैन होला ? यदि यसो हो भने के अहिले हामीहरूले भारतीय विस्तारवादको संक्रमित घटिया राजनीतिक उत्पीडन सोचबाट मुलुकलाई मुक्त गर्न सकेका छौं त ? यो प्रश्नको जवाफ कुनैपनि राष्ट्रभक्ति नेपालीसँग छैन् । यसरी दिनप्रतिदिन वंशजको नेपालीहरूलाई एनआरएन बनाउँदै जाने अनि हामी राष्ट्रिय मुक्तिको कुरा गर्ने, के यो सम्भव छ ?
आजको नेपाल र नेपाली समाजको प्रत्येक हिस्सामा भारतीय विस्तारवाद नीति र भारतीय नागरिकहरूले प्रभुत्व जमाउँदै आएको छ । यसको जवाफ कसले दिने ? यो मुलुकको राष्ट्रियता के अब भारतीय नागरिकहरू हुलेर जोगाउन सकिन्छ ? हाम्रो सामाजिक पहिचान के अब भारतीय शासकवर्गहरूको चाहना अनुरूप हुनुपर्ने हो ? त्यसैले, अहिले जनताको निर्णायक शक्ति जनताको बहुदलीय जनवादी शक्ति यो मुलुकको शासकीय क्षेत्रमा रहेको हुँदा यो बिषयमा गम्भीर भएर सोचौं । अहिले संविधान संशोधनको बिषयले प्राथमिकता पाएको बेला यो जनमुद्दाले प्रवेश पाऔंस् ।
त्यति मात्र होइन्, कुनैपनि भारतीय नागरिकहरू यहाँको राजनीतिदेखी सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रहरूसम्म अतिक्रमण गरिरहदाँ बरू हाम्रै भुटानी नेपालीहरूलाई पनि यो मुलुकको राष्ट्रियता मजबुत पार्न वंशजको नागरिकता दिम् । कम्तिमा उनीहरूमा नेपाली राष्ट्रियताको गुण त ह्रदयमा निहित छ । यहाँ खुला सिमानाको कारण भारतीय नागरिकहरू हाम्रा धर्म, संस्कृति, रितिरिवाज लगायत सम्पूर्ण क्षेत्रहरूमा अतिक्रमण गर्दै आएको हामी टुलुटुलु हेर्न सक्दैनौं । यो कुनै भौतिक र बौद्धिक विडम्बना होइन् । यो नियती होइन् तर, बनाइदैँछ । अन्त्यमा, विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू हो ! तपाईहरू जुनसुकै अवस्थामा रहेतापनि तपाईहरूभित्र नेपाली साहसिक रगत बगिरहेको छ । यही माटोको सुगन्ध फैलिएको छ । त्यसैले, तपाईहरू आज त्यो ठाउँमा आर्थिक हिसाबले व्यवस्थित होला तर, के कुराको याद राख्नुहोस् भने एकदिन तपाईहरूलाई नेपाली मूलका भुटानी जसरी लखेटिनेछ । यो तपाईको बेलामा नभएपनि तपाईहरूका छोरानातीको पालामा हुनसक्छ ।
अहिले म्यान्मारको शासकले पनि नेपाली मूलका म्यान्मारीहरूलाई लखेट्दैछ ।त्यसैले, आफ्नो जन्मभूमिको निम्ति, तपाईहरूको पुर्खाले निर्माण गरेको राष्ट्रको निम्ति, भोलीको सुनौली भविष्यको निम्ति आफ्नो रगत र पसिना बगाएको त्यो कुना कन्दरालाई नबिर्सनु होला । हामी सदैव यही आवाज उठाउँदै हिड्ने छौं किनकि अहिलेपनि तपाईहरूले आफ्नो जन्मभूमिप्रति दर्शाएको त्यो अथाह स्नेह र माया कदापी भूल्ने छैनौं । यो मुलुक बनाउन हामीबीच सहकार्य र सहिष्णुताको आवश्यकता छ । यो मुलुकमा यहाँ बस्ने नेपालीको जति अधिकार रहन्छ, त्यति नै अधिकार विश्वभर छरिएर रहेका नेपालीहरूको रहन्छ ।
हामी विभेदमा बाँच्ने नेपाली होइनौं, सदभावमा बाँच्ने मूलका सन्तानहरू हौं । तर, यो राष्ट्रलाई यतिधेरै घात अन्तर्घात गर्ने ती शोषक सामन्तवर्गहरू जसले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय विस्तारवादको नीतिलाई वकालत गर्छ, उसलाई भने हाम्रो यो एकताको अभियानमा सरिक गर्नु हुँदैन् । यसले हामीबीचको भावानात्मक नातालाई चिराचिरा पार्ने छ । यो मुलुकको दुख देख्दा एनआरएनहरूको चित्त नदुखेको होइन् । आँखाबाट आँशुको धारा नबगेको होइन् । समृद्ध नेपालको सपना बुन्दै सामाजिक सञ्जालहरूको बहस र छलफल कार्यक्रमहरूमा व्यस्त समयको बाबजुद पनि आफ्नो नेपालीपनको धारणा राख्ने जमर्को नगरेको होइन् । त्यसैले, हामी यी अमूल्य चीजहरूलाई कसरी भुल्न सक्छौं । यो भाईचाराको सम्बन्ध कसरी तोड्न सक्छौं ?