काठमाडौं। मेलम्चीको पानी आजबाट काठमाडौं पथान्तरण हुने भएको छ।
आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समिकिा कार्यकारी निर्देशक रत्न लामिछानेले सेतोपाटीलाई जानकारी दिए।
‘हिजो राति सहमति भएसँगै आजैबाट सुरूङमा पानी पठाउने तयारी थालेका छौं। अहिले हामी सिन्धुपाल्चोकको अम्बाथानस्थित मुख्य सुरूङमै छौं। आधा घन्टाजति सुरूङको अवस्था के छ भनेर अवलोकन गर्नेछौं। त्यसपछि पानी पठाउने प्रक्रिया सुरू हुनेछ,’ उनले भने।
स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको पनि उनले जानकारी दिए।
उनकाअनुसार काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ। त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ।
काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।
२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको छ।
अघिल्लोपटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशकले जानकारी दिए।
असाजे १० देखि १२ गतेसम्मको अविरल वर्षात् र त्यसपछिको बाढीले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली बिगारेको छ। काठमाडौं उपत्यकामा मेलम्ची नदीको पानी नल्याइँदा औसत १३ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ। मेलम्ची नदीको दैनिक १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिँदा औसत ३० करोड लिटर पानी आपूर्ति हुन्छ।
तै पनि काठमाडौं उपत्यकाको खानेपानीको माग भने पूरा हुन सकेको छैन। जनघनत्व बढेसँगै अहिले काठमाडौं उपत्यकामा सरदर दैनिक ५० करोड लिटर खानेपानीको माग रहेको छ।
पछिल्लो बाढीले उपत्यकाको खानेपानी फर्पिङ लगायतका ठाउँबाट आपूर्ति हुने प्रणाली, भूमिगत स्रोतको प्रणाली बिगारेकाले बनाउन केही समय लाग्ने र त्यसपछि मात्रै आपूर्ति सहज हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
मेलम्ची बाढी प्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
अध्यक्ष शेर्पाका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।
बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला, सर्कथलीको पुल निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ।
त्यस्तै चिउरी खर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार—भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल यथाशीघ्र निर्माणका लागि सम्बन्धित मन्त्रालयमार्फत् विशेष पहल गरी बजेटको व्यवस्था गर्ने सहमति भएको शेर्पाले बताए।
भेलबाढीले क्षति भएका घर तथा व्यवसाय स्थापित भइसकेपछि त्यस्ता घर तथा व्यवसायको बिमाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने साथै बाढीबाट पीडित भएका घर परिवारका सदस्यको समेत बिमाको पहल गर्ने सहमति भएको छ।
सरस्वती मावि र मेलम्ची भ्याली क्याम्पसको संरक्षण गर्ने सहमति भएको छ। बाढीपछि उक्त स्कुल र क्याम्पस जोखिममा छन्। अघिल्लो वर्ष पनि क्याम्पसका संरचना बाढीले बगाएको थियो।
दीर्घकालीन यातायातका लागि राजधानीसँग सबैभन्दा छिटो जोड्ने मध्यपहाडी लोकमार्ग, भविष्यमा गएर निर्माण हुने हिमाली लोकमार्ग, मेलम्ची खानेपानीको तीनवटै मुहानहरूमा पुग्न सहज हुने देखिएको हुँदा हेलम्बु—अम्बाथान—याङ्ग्र, साँखु—फट्केश्वर, सुन्दरीजल—हैबुङ सडकलाई बाह्रैमास चल्ने गरी सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर २ र ४ को वडा कार्यालयहरूको भवन निर्माण गर्न यथाशीघ्र बजेट सुनिश्चितताका लागि सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।
हेलम्बु ग्रेट ट्रेललाई आगामी आर्थिक वर्षको बजेटमार्फत् निर्माण कार्यलाई तीव्रता दिनका लागि संघीय पर्यटन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालयमार्फत् पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्न विशेष पहल गर्ने सहमति भएको शेर्पाले बताए।
हिउँदको समयमा नदीमा छाड्ने पानी विगतमा दैनिक १७ करोड लिटर पानी पथान्तरण गर्ने भनिएता पनि हाल जलवायु परिवर्तनका कारणले नदीमा पानीको परिमाण घटेको हुनाले खेतीकिसानीका लागि वातावरणीय प्रभाव मूल्याङ्कनमा औंल्याइएको आधारमा आवश्यक पानी छाडेर मात्र काठमाडौं लैजाने सहमति भएको छ। अब अम्थान—याङ्ग्रीको ९ किलोमिटर सुरूङ निर्माण गर्दा सोबाट निस्कने मकिङ (सुरूङ खन्दा निस्किएको सामग्री)लाई वातावरणीय प्रभाव मूल्याङ्कनमा औंल्याइएको आधारमा व्यवस्थित गर्ने सहमति भएको छ।
हेलम्बु गाउँपालिकाभित्रको ह्याङ्ला आनी आसाङ कृषि सडक स्तरोन्नति गर्ने सहमति भएको छ।
मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको मागमा मन्त्रालय र सरोकारवालाबीच पुनः छलफल गर्ने र तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ।
२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीले मेलम्ची नदी तटीय क्षेत्र तहसनहस तुल्याएको थियो। बाढीपछि उक्त क्षेत्रमा पुनर्निर्माणको काम हुन सकेको छैन। बाढीपछि चनौटेमा बेलिब्रिज हाल्नेबाहेक अरू काम नभएको स्थानीयको गुनासो छ।
मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखी पानी पथान्तरण गरेको भन्दै बाढी प्रभावित स्थानीय संघर्षमा उत्रिएका थिए। उनीहरूले बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०—१० लाख, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका तत्काल २०—२० लाख अनुदान दिनुपर्ने लगायतका १७ बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।