सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेलबाट छुटेको १५ दिनमै अनिलले गरेका थिए चन्द्रबहादुरको हत्या

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-६ का २४ वर्षीय अनिल परियारले जेलबाट छुटेको १५ दिनमै व्यक्तिको हत्या गरेको खुलेको छ।

असोज २६ गते राति बाँकेको कोहलपुर नगरपालिका-८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या भएको थियो। चार दिनपछि असोज २९ गते बिहान राप्ती सोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाकाबाट पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार अनिल परियार घटना हुनुभन्दा १५ दिनअघि मात्रै जेलबाट छुटेको हो। यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले उनी वैशाखमा छुटेको बताएका थिए। यद्यपि उनी असोज ११ गते मात्रै कारागारबाट छुटेको खुलेको हो।

अनिल परियारविरूद्ध बलात्कार मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरले चलाएको थियो। उनी त्यस मुद्दामा दोषी ठहर भई २ वर्ष ९ महिना कारागार चलान भएका थिए।

असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर-८ बंगलाचोकस्थित कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो। तर उनको टाउको भने फेला परेको थिएन।

शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो।

घटनास्थलबाट झन्डै ५ सय मिटर पर कोहलपुर-८ पिपिरीस्थित आरोपी अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको फेला परेको थियो। उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो।

शव फेला परेपछि स्थानीयको सूचनाको आधारमा इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक भट्ट र प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको संयुक्त टोली अनुसन्धानका लागि खटिएको थियो।

कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि झिकाइएको थियो। 

यस्तै, जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जबाट पनि प्रहरी निरीक्षक नवीन चापागाइँको नेतृत्वमा पनि टोलीले अनुसन्धान थालेको थियो। 

अनुसन्धानबाट घटनास्थलबाट करिब डेढ-दुई सय मिटर नजिकै एउटा सिसिटिभी क्यामेरा लगाएको फेला परेको थियो।

त्यसबाट फुटेज संकलन गरी हेर्दा सुनसान रातमा एक जना युवक कैद भएको देखिएको थियो। फुटेजमा युवकले केही सामान बोकेको समेत देखिएको थियो। उनी साइकलमा सवार थिए।

ती पुरूषबारे खोजी गर्दै जाँदा त्यस ठाउँबाट झन्डै पाँच सय मिटर टाढा प्रहरी अनिता परियारको घरमा पुगेको थियो।

प्रहरीले उनको घरको आँगनमा रहेको एउटा ढुंगामा रगतको खतसमेत फेला पारेको थियो। सिसिटिभीमा देखिएका व्यक्तिबारे अनितालाई प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो दाइ नाता पर्ने बताएका थिए। त्यसपछि प्रहरी अनिलको खोजीमा लागेको हो।

एसपी कार्कीले सिसिटिभीको फुटेज समयमै अध्ययन गरी घटना अनुसन्धानमा नलागेको भए र त्यो साइकलको खोजी नभएको भए घटना अनुसन्धानमा थप जटिल बन्नसक्ने बताए। 

साइकल फेला परेपछि हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न र घटना अनुसन्धान गरी फरार अनिल समक्ष पुग्न प्राविधिक विश्लेषण समेत गरेको उनले बताए।

सिसिटिभी फुटेजमै मृतक चन्द्रबहादुर र अनिलबीच भएको झगडा समेत प्रष्टसँग कैद भएको एसपी कार्कीले बताए। 

दुवैले मदिरा सेवन गरेको र त्यसैबीच झगडा हुँदा हत्यासम्म हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कसैले घर आँगनमै राखेको हतियार फेला पारेर अनिलले प्रहार गरेको हुनुपर्ने पनि प्रहरीको अनुमान छ।

मृतक र आरोपीबीच के कारणले विवाद भएको भन्ने खुलिसकेको छैन। उनीहरूबीच पुरानो चिनजान समेत नभएको खुलेको छ।

चन्द्रबहादुरको शव पोष्टमर्टका लागि प्रहरीले भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »