सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झनै खुम्चिंदो चिनियाँ आर्थिक वृद्धिदर

काठमाडौं । विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको विस्तार यो वर्ष  (सन् २०२४) को तेस्रो त्रैमासिकमा पनि निकै सुस्त देखिएको छ ।

सन् २०२३ को सुरुआतदेखि नै चीनको अर्थतन्त्रमा सुस्ती देखिएको परिप्रेक्ष्यमा चीनले घट्दो आर्थिक वृद्धिदरलाई बढाउन संघर्ष गरिरहेको छन् ।

सेप्टेम्बरमा सकिएको तेस्रो त्रैमासिकमा गत वर्षको तुलनामा चीनको कुल गार्हस्थ्य  उत्पादनमा ४.६प्रतिशतको वृद्धि भएको चीनको राष्ट्रिय तथ्यांक ब्युरोले उल्लेख गरेको छ ।

यो अघिल्लो त्रैमासिकभन्दा कम मात्र होइन चीन सरकारको वार्षिक ५ प्रतिशतको वृद्धिको लक्ष्यभन्दा पनि कम हो । साथै आर्थिक वृद्धि ५ प्रतिशतभन्दा कम भएको यो लगातार दोस्रो त्रैमासिक हो ।

यद्यपि विश्लेषकहरुको प्रक्षेपणभन्दा यो वृद्धिदर केही राम्रो देखिएको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांक अनुसार खुद्रा बिक्री तथा औद्योगिक उत्पादनको क्षेत्रमा पनि विश्लेषकहरुको प्रक्षेपणभन्दा राम्रो प्रगति देखिएको छ ।

पछिल्ला हप्ताहरुमा चीन सरकारले देशको आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्यका साथ विभिन्न उपायहरुको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको चीन महाशाखाका पूर्वप्रमुख समेत रहेका ईश्वर प्रसादले पछिल्लो आर्थिक वृद्धिको तथ्यांकले चीन सरकारले यो वर्षका लागि राखेको वृद्धिको लक्ष्य प्राप्तिमा गम्भीर खतरा पैदा गरेको बताएका छन् ।

साथै चौथो त्रैमासिकमा आर्थिक वृद्धिको लक्ष्य भेट्टाउनका लागि उल्लेख्य मात्रामा उत्प्रेरक प्याकेजहरुको आवश्यकता पर्ने उनको भनाइ छ ।

उता मूूडीज एनालिटिक्सका अर्थविद् ह्यारी मर्फी क्रुज चाहिं चीन सरकारले पछिल्लो पटक अर्थतन्त्र सुधारमा घोषणा गरेका विभिन्न योजनाहरुले यो वर्षको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पर्‍याउने आशा व्यक्त गरेका छन् ।

यद्यपि यसका लागि अर्थतन्त्रमा रहेका संरचनागत चुनौतीहरू संबोधन गरिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो तथ्यांकले चीनमा नयाँ घरको मूल्य पछिल्लो एक दशकमै सबैभन्दा तीव्र गतिमा घटेको देखाएको छ । यसले घरजग्गा व्यवसाय क्षेत्रको मन्दी झनै चर्किरहेको संकेत गरेको छ ।

विश्लेषकहरुका अनुसार घरजग्गा बजार चिनियाँ आर्थिक वृद्धिको क्षेत्रमा सबैभन्दा ठूलो अवरोधका रुपमा ठडिएको छ ।

शुक्रबार चीनको केन्द्रीय बैंकले देशका बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक वृद्धिलाई सहयोग पुग्नेगरी कर्जा प्रवाहमा बढावा दिन आग्रह गर्नका लागि एक बैठकको आयोजना गरेको जानकारी गराएको थियो ।

गत महिना चीनको पिपुल्स बैंक अफ चाइनाले ब्याजदर तथा किस्ता दरमा ठूलो कटौती गर्ने लगायतका विभिन्न उत्प्रेरणा प्याकेज घोषणा गरेको थियो । अर्थतन्त्र सुधारका लागि घोषित ती प्याकेज महामारी यताकै सबैभन्दा ठूला प्याकेज हुन् ।

उक्त योजना अनुसार सुस्ताएको स्कट मार्केलाई सहयोग गर्ने तथा व्यवसाय र व्यक्तिहरुलाई कर्जा प्रवाहका लागि बैंकलाई उत्प्रेरित गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

स्मरण रहोस् चिनियाँ अर्थतन्त्र केही वर्षयता विभिन्न चुनौतीसँग जुधिरहेको छ, जसमा घरजग्गा व्यवसायको क्षेत्रमा देखिएको समस्याका साथै उपभोक्ता र व्यवसायको कमजोर आत्मविश्वास लगायतका रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »