सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कीर्तिपुरका स्वतन्त्र उम्मेदवार महर्जनकहाँ पुगे कुलमान घिसिङ

काठमाडौं । कीर्तिपुर नगरपालिकामा चुनावको माहोल छ।

आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। कीर्तिपुरको मेयरका लागि स्वतन्त्रदेखि विभिन्न दलहरूका तर्फबाट उम्मेदवारी दर्ता चलिरहेको छ।

कीर्तिपुर नगरपालिका प्रमुख र दुइटा वडामा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। यहाँ सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।

उम्मेदवारीको पूर्वसन्ध्यामा महर्जनले नेपाल विद्युत  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेका छन्। मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका महर्जनलाई भेट्न घिसिङ कीर्तिपुर नै पुगेका हुन्।

घिसिङ र महर्जनबीच शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म कुराकानी भएको थियो। घिसिङ र महर्जन कुराकानी गर्दै कीर्तिपुरको बाघ भैरव मन्दिर र त्यहाँबाट लहना रेष्टुरेन्टसम्म पुगेको तस्बिरहरू सार्वजनिक भएका छन्।

महर्जनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेपछि कात्तिक २३ गते सेतोपाटीले उनलाई सम्पर्क गरेको थियो। त्यसक्रममा उनले आफूलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समर्थन जनाएको बताएका थिए। त्यस्तै कुलमान घिसिङलाई पनि चियापानमा बोलाउने उनले त्यसबेलै सेतोपाटीसँगको कुराकानीमा भनेका थिए।

‘भोलि फेरि एक जना राष्ट्रिय छवि भएको मान्छे आउनुभयो भने फेरि थप राम्रो हुन्छ। सायद कुलमानजी आउनुहुन्छ। उहाँले समर्थन जनाउन त मिल्दैन होला। तर चिया एक कपको लागि भए पनि बोलाउँछु, पदमा रहुञ्जेल उहाँ यताउति हुनुहुन्न होला,’ महर्जनले भनेका थिए।

त्यसको आठ दिनपछि महर्जनकै निम्तोमा कुलमान घिसिङ कीर्तिपुर पुगे। हामीले स्वतन्त्र उम्मेदवार महर्जनलाई कुलमान घिसिङले समर्थन जनाएको हो भनेर सोधेका छौं।

उनले घिसिङ मन्दिरमा दर्शन गर्नका लागि आएको बताए। 

‘यस विषयमा त उहाँलाई नै सोध्नुपर्छ, उहाँ कार्यकारी पदमा बस्नुभएको मान्छे, त्यसैले उहाँ नियममा बस्नुपर्ने हुन्छ। त्यसकारण समर्थनबारे थाहा भएन,’ महर्जनले सेतोपाटीसँग भने, ‘उहाँ बाघ भैरव मन्दिरमा यसअघि आउनुभएको रहेनछ। त्यसैले दर्शन गर्न आउनुभएको हो, त्यसैबेला भेटघाट भएको हो।’

यसअघिको कुराकानीमा घिसिङ समर्थनका लागि आउने बताएको प्रसंगमा महर्जनले कर्मचारीको आफ्नै नियम हुने बताए। ‘उहाँहरूको आफ्नै नियम हुन्छ, समर्थनबारे हामीले केही भन्न मिल्दैन,’ उनले भने, ‘उहाँसँग लोडसेडिङ अन्त्य गर्दादेखि नै चिनजान छ।’

उपनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले आइतबारदेखि नै आचारसंहिता लागु गरिसकेको छ। सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »