सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग छलफल

काठमाडौँ / नेत्रहीन क्रिकेट संघ नेपालले क्रिकेट खेलको माध्यमबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको क्रिकेट खेलको विकास गरी उनीहरूको पुनर्स्थापना र सशक्तीकरणका लागि काम गर्दै आएको छ । वि.सं २०६३ सालमा स्थापना भएको यस संघले अहिले सम्म देशका ७ वटा प्रदेशहरूमा शाखा विस्तार गरी करिब ७ सय भन्दा बढी दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेको छ ।

दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई क्रिकेट खेल मार्फत अगाडी बढाउने क्रममा नेत्रहीन क्रिकेट संघ नेपालले हिजो मंसिर २ गते काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

सो छलफलमा संस्थाका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले सबैलाई स्वागत गर्दै यस खेलले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, आत्मा विश्वास बढाउनुका साथै विश्वमा राष्ट्रलाई चिनाउने कार्य गरेको बताउनु भयो । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता महिला खेलाडी सरिता थुलुङ्गले खेलकुद अन्य नागरिकहरूका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि अति नै महत्त्वपूर्ण रहेको र अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिदिएको खण्डमा अपाङ्गता प्रति सकारात्मक रूपमा जनचेतना जाग्ने, राज्यको ध्यानाकर्षण हुने बताउनु भयो । साथै उहाँले सञ्चार माध्यमहरूले आफ्नो सङ्घर्षको कथा प्रकाशन गरे पछि आफूले ह्वीलिचयर बास्केटबल, पौडी र भारोत्तोलन खेल खेल्दै आएको र जापान, सिङ्गापुर अमेरिका गएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सहभागी हुँदै ७ वटा स्वर्ण पदक ल्याउन सफल भएको बताउनु भयो ।

यस छलफलका क्रममा राष्ट्रिय समाचार समितिका सह – सम्पादक विक्रम गिरीले आफ्नो खेलकुदको पत्रकारिताको दौडानमा अपाङ्गता भएका व्यक्तिहरू खेलकुदका सामाग्रीहरूलाई आफू आबद्ध सञ्चार माध्यममा समावेश गर्दै आएको र आगामी दिनमा पनि उनीहरूका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिने बताउनु भयो । त्यसै गरी विगत १५ वर्ष देखि अपाङ्गता क्षेत्रमा पत्रकारिता गर्दै आउनु भएकी तथा रेडियो सगरमाथामा कार्यरत सञ्चारकर्मी शर्मिला विश्वकर्माले सबै सञ्चार गृहहरू अपाङ्गता अनुकूलको बनाइनु पर्ने, सबै मिडिया हाउसहरूले कम्तीमा पनि एक जना अपाङ्गता भएका व्यक्तिलाई संवाददाता रूपमा काम गर्ने अवसर दिनु पर्ने, सञ्चारकर्मीहरूले अपाङ्गताका विषयमा राम्रो जानकार राख्नु पर्ने लगायतका विषयमा आफ्नो धारणा व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा इमेज एफ.एम.का स्टेसन म्यानेजर, इमेल च्यानल टेलिभिजनका समाचार संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष निरञ्जन अधिकारीले आफ्नो २० वर्षे पत्रकारिताको दौरानमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदलाई धेरै नजिकबाट नियाल्ने अवसर जुट्न नसकेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले पर्याप्त मात्रमा सञ्चार माध्यमको श्रोत साधन नहुँदा अपाङ्गता भएका व्यक्तिहरू खेलकुदका सवालहरू ओझेलमा परेको भएता पनि अबका दिनमा सम्बन्धित संघ संस्थाहरूसँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरूका अन्य सवालका साथै खेलकुदका सवालहरूलाई पनि प्राथमिकताका साथ स्थान दिनु पर्ने कुरामा जोड दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »