सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दुधराज तामाङ बोधिचित्त (बुद्धचित्त) माला लुटपाट प्रकरणमा पक्राउ

काठमाडौं । सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणका आरोपी दूधराज तामाङ पक्राउ परेका छन् । उनलाई गएराति नौ बजे ललितपुरको हरिसिद्धीबाट प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।
गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।
फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होम बहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होम बहादुर सुनुवारको स्वामित्वमा छ ।
खतिवडाले दिएको जाहेरीको आधारमा प्रहरीले डाँकाचोरी तथा लुटपाट मुद्दामा दर्ता गरेको थियो । सो घटनामा यसअघि पक्राउ परेका राकेश तामाङ हाजिर जमानीमा रिहा भएका थिए ।
बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्नेगरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेको उनको आरोप छ ।
रुख धनी होमबहादुरसँग सुरुमा काभ्रेको तेमाल गाउँपालिका घर भएका पुष्पलाल दोङले खरिद सम्झौता गरेका थिए । दोङबाट पुनः राकेश तामाङ, सुवर्ण लामा र देवलाल तामाङले दाना टिप्नेगरी करार गरे । त्यसपछि राकेश सहितका ३ जनाबाट आफूले दाना खरिद गर्ने सम्झौता गरेको जाहेरवाला खतिवडा बताउँछन् । उनले भने, ‘मलाई बेच्ने मध्येका राकेश र पुष्पलाल आफैँ गएर मेरो स्वामित्वको बुद्धचित्तको दाना लुटेका हुन् ।’ लुटमा संलग्न पुष्पलाल दोङ फरार छन् ।
यो बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »