काठमाडौं । सम्पर्कविहीन भएको चार दिनपछि मृत भेटिएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ की १८ वर्षीया सुचिना घलेको हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले घलेको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अघि बढाएको छ ।
गोरखाका डीएसपी तथा प्रवक्ता इन्द्रप्रसाद सुवेदीले धारिलो हतियार प्रहार गरी घलेको हत्या गरिएको देखिएको बताए ।
‘अहिलेसम्मको अनुसन्धानका क्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिन्छ । थप अनुसन्धानको काम भइरहेको छ,’ डीएसपी सुवेदीले भने ।
युवतीको शव पोस्टमार्टमका लागि समेत पठाइएकोमा अहिलेसम्म रिपोर्ट आइपुगेको छैन । घले १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी थिइन् ।
त्यसको चार दिनपछि मंगलबार उनको शव जंगलमै खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको थियो ।उनी जंगलबाट नफर्किएपछि परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
त्यसपछि प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलास गर्दा गाडिएको अवस्थामा उनको शव भेटिएको थियो ।
स्थानीय जंगल मैखर्कमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव भेटिएको थियो ।
नजिकै डोको, रगत र कपालसमेत भेटिएको थियो ।
त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको टोली ल्याएर समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म संदिग्ध व्यक्तिहरूको पहिचान हुन सकेको छैन ।