काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरूको उपचारका लागि ‘प्लाज्मा थेरापी’ सुरु गर्न प्रक्रिया थालेको छ । यसअन्तर्गत कोभिड–१९ रोग निको भइसकेका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ निकालेर कोरोनाले स्वास्थ्यस्थिति जटिल बनेका व्यक्तिमा चढाई उपचार गरिन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुलाई ‘प्लाज्मा थेरोपी’ मा कसरी जाने भन्नेबारे गाइडलाइन प्रोटोकल ड्राफ्ट गर्ने जिम्मेवारी दिइएको छ । प्रयोगशालाकी निर्देशक डा।रुणा झाले प्लाज्मा थेरापीमा कसरी अगाडि बढ्ने भन्नेबारे गाइडलाइन, प्रोटोकल आदि ड्राफ्ट भइरहेको बताइन् । उक्त गाइडलाइनमा प्लाज्मा कति दिनमा निकाल्ने, कुन–कुन ब्लड बैंकमा निकाल्न सकिने, कहाँ–कहाँ स्टोर गर्न सकिनेलगायतका आवश्यक विषयवस्तुबारे उल्लेख गरिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उक्त गाइडलाइन सकेसम्म छिटो निर्माण गरेर सोमबार ल्याउन भनेका छन् ।
‘कन्भेलासेन्ट प्लाज्मा थेरोपी भविष्यमा काम लाग्न सक्ने भएकाले यसलाई मुलुकमै सञ्चालन गर्ने प्रक्रिया सुरु गरिएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।रोशन पोखरेलका अनुसार सरकारले हाल वैज्ञानिक अनुसन्धानका लागि जटिल प्रकृतिका कोभिड–१९ बिरामीहरूमा प्लाज्मा थेरोपी मुलुकमा उपयोग गर्ने सोच राखेको हो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिन लामो बसाइपछि गत शनिबार निको भएर घर फर्केकी १९ वर्षीया युवतीले यो रोगविरुद्घ आफ्नो शरीरमा एन्टिबडी निर्माण भइसकेकाले भविष्यमा उपचारका लागि प्लाज्मा दान दिने बताएकी थिइन् । उनले कोभिड–१९ संक्रमणबाट निको भइसकेका र निको हुने अन्य व्यक्तिलाई समेत उपचार प्रयोजनका लागि आफ्नो प्लाज्मा दान दिन आग्रह गरेकी थिइन् । आइतबारसम्म मुलुकमा ३१ जनामा संक्रमण भएकामा चार जना निको भएर घर फर्किसकेका छन् ।
‘सोमबार प्लाज्मा थेरापीबारे गाइडलाइन बन्छ, यसपछि हामी प्रक्रियाअनुसार अगाडि बढ्ने छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा।वासुदेव पाण्डेका अनुसार नतिजा सकारात्मक देखिए यसलाई भविष्यमा अनुसन्धानको दायराबाट बाहिर ल्याएर उपचार प्रक्रियामा समेत उपयोग गर्न सकिन्छ । उनका अनुसार नेपाल सरकारले कोभिड–१९ का लागि तयार पारेको क्लिनिकल म्यानेज्मेन्ट गाइडलाइनमा प्लाज्मा थेरापीको प्रावधान यसअघि नै राखिसकेको छ । ‘पहिलेसमेत सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स), स्वाइन फ्लुलगायत थुप्रै रोगको उपचारका लागि प्लाज्मा थेरापीको उपयोग भइसकेको छ,’ डा।पाण्डेले भने । उनका अनुसार मुलुकमा गरिने यो अध्ययनको उद्देश्य प्लाज्मा थेरापी कोभिड–१९ रोगको उपचारका लागि कतिसम्म प्रभावकारी छ भन्नेबारे थाहा पाउनु हो ।
विशेषज्ञहरूका अनुसार कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्मको अवस्थामा प्लाज्मा थेरापी कोरोना भाइरसले संक्रमित बिरामीका लागि प्रभावकारी उपचार सावित हुन सक्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्घ प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ ।
हालसम्मका अध्ययनअनुसार कोभिड–१९ रोगबाट निको भएका एक जना स्वस्थ व्यक्तिको शरीरबाट निकालिएको प्लाज्माले अन्य चार व्यक्तिको उपचार गर्न सकिन्छ । ‘कोभिड–१९ बिरामीलाई जितेका एक व्यक्तिबाट करिब ८ सय मिलिमिटर प्लाज्मा लिन सकिन्छ,’ डा। पाण्डेले भने । उनका अनुसार कोरोना भाइरसले बिरामी भएकालाई उपचार प्रक्रियाअन्तर्गत करिब दुई सय मिलिलिटरसम्म प्लाज्मा चढाउन सकिन्छ ।
एउटा स्वस्थ व्यक्तिबाट बिरामी व्यक्तिमा रोग प्रतिरोधक क्षमता प्रतिस्थापन गर्न सकिने मान्यताअनुसार ब्लड प्लाज्मा थेरापी गरिन्छ । यो उपचारका लागि ‘एस्पेरेसिस’ विधिबाट रगत निकालिन्छ । यो विधिअनुसार रगतबाट मात्र प्लाज्मा वा प्लेटेलेट्सजस्ता अवयवलाई निकालेर बाँकी रगतलाई पुन: दाताको शरीरमै फिर्ता गरिन्छ ।
महामारीलाई परास्त गरिसकेको छिमेकी मुलुक चीनमा प्लाज्मा थेरापीबाट कोभिड–१९ को उपचार गर्दा सकारात्मक नतिजा देखिएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले पनि त्यहाँको पाँचवटा मेडिकल कलेजलाई प्लाज्मा थेरोपीको क्लिनिकल ट्रायल गर्ने अनुमति दिइसकेको छ । आईसीएमआरले प्लाज्मा थेरोपीबाट कोभिड–१९ को उपचारका लागि विस्तृत गाइडलाइनसमेत बनाएको छ । आईसीएमआरका अनुसार सुरुमा यो थेरापीको उपयोग कोभिड–१९ ले गम्भीर रूपले बिरामी भएका र भेन्टिलेटरमा राखिएका बिरामीमा मात्र गरिनेछ ।
२४ घण्टामा पीसीआरबाट ६४ नमुना परीक्षण
स्वास्थ्य मन्त्रालयले शनिबार २४ घण्टामा पीसीआरबाट कोभिड–१९ का शंकास्पद ६४ वटा नमुना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म ८ हजार ८१ नमुनाको पीसीआर परीक्षण भएको छ । यसअघि शनिबार मन्त्रालयले ८ हजार १७ नमुनाको पीसीआर परीक्षण भएको जनाएको थियो । भेरी अञ्चल अस्पतालमा समेत पीसीआर परीक्षण सुरु भएको जनाउँदै मन्त्रालयले हाल १५ वटा प्रयोगशालाहरूबाट यो परीक्षण भइरहेको उल्लेख गरेको छ ।
प्रदेशका प्रयोगशालामा हुने पीसीआर परीक्षणमा पोजिटिभ आउँदा केस भेरिफिकेसन गर्न पश्चिममा भेरी अञ्चल अस्पताल र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने मन्त्रालयले जनाएको छ ।
यस्तै आइतबार २४ घण्टामा २०३२ वटा नमुनाको आरडीटी किटबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । हालसम्म आरडीटीबाट २१ हजार ४ सय ८६ नमुनाको परीक्षण गरिएको छ ।
मुलुकभरिमा ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् भने पाँच जना उपत्यका र ९८ जना उपत्यकाबाहिर गरी १ सय ३ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित देखिएका ३१ जनामध्ये चार जना निको भएर घर फर्किसकेका छन् । हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना, पाटन अस्पतालमा दुई जना, बागलुङमा एक जना, धनगढीमा चार जना, विराटनगरमा १३ जना, वीरगन्जमा चार जना र भरतपुरको अस्पतालमा दुई जना उपचाररत छन् । अस्पतालमा रहेका सबै बिरामीको स्वास्थ्यस्थिति सामान्य छ ।