कोरोनाले विश्वव्यापी महामारीको रुप लिनु अघि स्यानिटाइजरको खासै प्रयोग हुँदैन थियो । तर अहिले स्यानिटाइजरको नाम समेत नसुनेका गाउँघरका आमा बुबाले समेत स्यानिटाइजर दल्नुपर्ने अवस्था सिर्जना भएको छ । सकेसम्म साबुन पानीले हात धुनु नै भाइरस तथा अन्य किटाणुहरुबाट जोगिने उपाय भएपनि हात धुने पानी नभएको ठाउँमा वा केही चीज छोएर तत्काल संक्रमणमुक्त बनाउनु छ भने स्यानिटाइजर लगाउनु पर्ने हुन्छ ।
तर स्यानिटाइजरको राम्रो पक्ष मात्र छैन । सही तरिकाले प्रयोग गरेको स्यानिटाइजरले किटाणु मार्ने वा हातलाई संक्रमणमुक्त बनाउने काम गरेपनि यसलाई प्रयोग गर्न नजाने विभिन्न जोखिमहरु निम्त्याउन सक्छ ।
ह्यान्ड स्यानिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो। स्वास्थ्य संस्थामा अल्कोहल युक्त स्यानिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ।
इथेल वा आइसोप्रोपल अल्कोहलको मिश्रणमा ६० प्रतिशतदेखि ९५ प्रतिशत अल्कोहल हुनु जरुरी हुन्छ। औषधि व्यवस्था विभागका अनुसार स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलमा इथेल वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ।
अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सक्ने संभावनाको ख्याल राख्नुपर्ने हुन्छ। यसले अधिकांश सूक्ष्म जिवाणु विरुद्ध कार्य गर्दछ तर स्पोर्स विरुद्ध काम गर्दैन। छालालाई सुक्खा हुनबाट बचाउनका लागि यसमा ग्लाइसेरल मिसाउन सकिन्छ।
ह्यान्ड स्यानिटाइजर प्रयोग गर्दा निम्न कुराहरु गर्नुपर्छः
– एउटा हातको हत्केलामा सेनिटाइजर लगाउने
– दुवै हात एकआपसमा मिच्ने, दल्ने
– हात सुक्खा नहुन्जेलसम्म हात तथा औंलाहरुको सम्पूर्ण भागमा दलिराख्ने
ह्यान्ड स्यानिटाइजर अस्पताल तथा स्वास्थ्य सेवामा सन् १९६० को दशकमा प्रयोमा ल्याइएको पाइए तापनि सन् १९९० तिर बढी प्रख्यात भएको हो। सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड स्यानिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस तथा कोरोना भाइरसलाई पनि नष्ट गर्छ। अल्कोहलयुक्त सेनिटाइजरले ३० सेकेन्डभित्र ९९.९ प्रतिशत तथा १ मिनेटभित्र ९९.९९ प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्छ।
कमजोरीहरु
यदि हातमा कुनै तरल वा देखिने फोहोर लागेको छ अथवा दिसा सफा गरे पछाडिको अवस्थामा स्यानिटाइजर भन्दा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ। किटनाशक लगायत विभिन्न रसायनहरु विरुद्ध ह्यान्ड स्यानिटाइजर प्रभावकारी हुँदैन।
सुरक्षा
अल्कोहलजन्य ह्यान्ड स्यानिटाइजर अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सकने प्रवल सम्भावना हुन्छ।
त्यसैगरी छाला सुक्खा हुने, एलर्जी हुने जस्ता समस्याहरु देखा पर्नुका साथै बालबालिकाले अल्कोहलजन्य ह्यान्ड स्यानिटाइजर सेवन गरेको खण्डमा अल्कोहल पोइजनिङ हुनसक्छ।
आवश्यक परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने ह्यान्ड स्यानिटाइजर मापदण्ड विपरीत रहेको पाएको औषधि व्यवस्था विभागले जनाएको छ। बजारमा मिथानोल जस्तो विषादीयुक्त रसायन मिसाइएका र अल्कोहलको परिमाण तोकिए अनुसार नभएका न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर बिक्री वितरण भइरहेको भन्ने जानकारी प्राप्त भएको छ।
मिथानोललाई छालामा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। प्रायः यो रसायन घरमा रङ लगाउँदा रङ पातलो बनाउन प्रयोग गरिन्छ। विषाक्त रसायन मिसाइएको ह्यान्ड स्यानिटाजर ठूलो परिमाणमा बजारमा पुगेको हुनसक्छ। यो रसायन आँखामा परेमा दृष्टि गुम्छ र शरीरभित्र पर्यो भने ज्यानलाई पनि खतरा हुन्छ।
संक्षिप्तमा भन्नुपर्दा हाल प्रायः जनसंख्याले ह्यान्ड स्यानिटाइजरको प्रयोग गरिरहेको अवस्था छ। किराना पसल, तरकारी पसल वा अन्य व्यवसायीहरुले पनि स्यानिटाइजरको बिक्री वितरण गरिरहेका छन्।
विकासशील देशहरुका लागि विश्व स्वास्थ्य संगठनले स्यानिटाइजरको थोक मूल्य तोकेको छ। तर, डब्लुएचओले तोकेको मूल्यमा नबेची बजारमा विभिन्न किसिमका बोटलहरुमा आ -आफ्नै मूल्य कायम गरी बिक्री वितरण गरेको पाइन्छ।
कुनै स्यानिटाइजर दल्ने बित्तिकै सुक्ने तथा कुनै च्यापच्याप भई हात नै धुनुपर्ने खालका स्यानिटाइजरहरु तथा कार्यालयहरुमा प्रवेश गर्दा गेटमा २/४ थोपा स्यानिटाइजर हातमा चुहाइदिने साथै बैंकमा प्रवेश गर्दा ४/५ थोपा चुहाइदिने गरेको मेरै अनुभव छ। जुन स्यानिटाइजरको गुणस्तरीयता र मात्रामा प्रश्नचिह्न खडा हुन्छ।
स्यानिटाइजरको सही तरिकाले प्रयोग गर्नु फाइदाजनक हुने भए तापनि सही तरिकाले प्रयोग नगरेमा शतप्रतिशत प्रभावकारी हुँदैन।
स्यानिटाइजरको प्रयोग गर्दा सही मात्रा, अवस्था, गुणस्तरीयता तथा विधि पालना गर्नुपर्ने बारे समुदायमा सचेतना जगाउन आवश्यक हुन्छ। अन्यथा प्रभावकारी नभई क्षति हुन सक्छ। कम्तीमा स्यानिटाइजर बिक्रेताहरुले क्रेताहरुलाई प्रयोग गर्ने तरिकाबारे जानकारी दिनु जरुरी हुन्छ।
अन्त्यमा कोरोना भाइरसबाट बच्नका लागि साबुनपानीले मिचिमिची हात धुने, सामाजिक दूरी कायम गरी शंकास्पद व्यक्तिको सम्पर्कमा नजाने तथा शंका लागेमा स्वास्थ्यकर्मीसँग परामर्श लिई सभ्य नागरिक बनेर आफ्नो कर्तव्य पालना गर्नु आजका दिनमा उत्तम हुनेछ।
अर्याल वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हुनुहुन्छ । हामीले यो सामग्री स्वास्थ्य खबर डटकमबाट साभार गरेका हौं ।