काठमाडौं । सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदैछन् । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
लकडाउनका कारण ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।
बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो। यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन्। यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ।
यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ। उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ। यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ। उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ।
बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन्।