काठमाडौं / असार ८
नेपालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डे सङ्क्रमितको सङ्ख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलिनसकेको बताए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज कोभिड–१९ बारे जानकारी दिँदै डा पाण्डले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए ।
उनका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।
उनले भने, “अहिलेसम्म कोभिड सङ्क्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ, उहाँहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।”
डा पाण्डेले अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ । – रासस