काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले नगर बसको उद्घाटन गर्नुभएकाे थियाे । चौरजहारी नगरपालिका जिल्लामा नगर बस संचालन गर्ने पहिलो स्थानीय तह बनेको छ ।
प्रदेश सभा सांसद गोपाल शर्मा र जिल्ला समन्वय प्रमुख राज कुमार शर्माले उद्घाटन गर्नुभएको थियाे । साथै प्रदेश सभा सांसद शर्मा, जिल्ला समन्वय प्रमुख राज कुमार शर्मा नगर प्रमुख विशाल शर्मालगाएतले बसमा बसेर चौरजहारी भ्यालिको यात्रा गर्नुभएको थियो ।
प्रदेश सभा सांसद गोपाल शर्माले नगर बसलाई नगरवासीले आफ्नो जिविकोपार्जन सुधार गर्नका लागि प्रयोग गर्नुपर्ने बताएका छन् ।
बसमा चढेर आउजाउ गर्ने र बजारबाट सामान घरसम्म पुर्याउने मात्र नभई आफ्नो घर तथा गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि अधिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगर प्रमुख शर्माले नगरपालिकाको दुरदराजमा रहेका नागरिकलाई सहुलियतमा भरपर्दो यातायात सेवा दिने उदेश्यले नगर बस संचालनमा ल्याएको बताएका छन् ।
नगर बस संचालनमा आए संगै नगरवासीलाई नगरपालिकाको कार्यालय, नगरपालिकाको प्रमुख व्यापारीक केन्द्र चौरजहारी बजार लगायतका ठाउँमा आउजाउ गर्न सहज हुने विश्वास लिईएको छ ।
दुई वटा ठुला बस ३२/३२ सिट क्षमताका र एउटा बस २६ सिट क्षमताको छ । उक्त बस नगरपालिका भित्र पर्ने चौरजहारी उपत्यका सहित विभिन्न सडक खण्डमा दैनिक संचालन हुने नगरपालिकाले जनाएको छ ।
नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ । यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० बर्ष माथिका जेष्ठनागरिकलाई नि:शुल्क प्रदान गरिनेछ ।
अब चौरजहारी भ्यालिको कुनै ठाउँ बाट यात्रा गर्दा २० रुपैया मात्र तिरे पुग्ने छ भने चौरजहारी बसपार्क देखि नुवाकोटसम्म रु २ सय, बसपार्कदेखि चौफा रु १ सय मात्र तिर्नु पर्ने हुन्छ ।