काठमाण्डौ । सीमा बचाऔं अभियान, नेपालद्वारा आइतबार पत्रकार सम्मेलन गरि नेपालको वैज्ञानिक वास्तविक नक्सा सार्वजनिक गरेको छ। हालै भारतले एकलौटी ढंगबाट नेपालको भूभाग समेटेर आफ्नो नक्सा जारी गरे पश्चात् जनस्तरबाट भूगोलविद, नदीविद, सीमाविद लगायतका नागरिकहरु सम्मिलित भई गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हो ।
वरिष्ठ पत्रकार एवं नागरिक अगुवा तथा सीमा बचाऊ अभियान, नेपाल नक्सा समितिका संयोजक भैरव रिसालले अभियानले तयार गरेको नेपालको नक्सा पत्रकारहरु माझ सार्वजनिक गर्दै सो नक्सा सुगौली सन्धिअनुसारको भएको बताएका छन् । अभियानले सार्वजनिक गरेको नक्सा नै बैज्ञानिक र वास्तविक नक्सा भएकोले सर्वत्र चर्चा हुनुपर्ने पनि संयोजक रिसालले बताए । उनले अरुको जमिन पनि नलिने र आफ्नो पनि एक इन्च नछोड्ने मूल सिद्धान्तमा सीमा बचाऔं अभियान, नेपाल चल्ने स्पष्ट पारे ।
भारतको नेपाली भूमि अतिक्रमण र केही समयअघिमात्र सार्वजनिक गरिएको भारतीय नक्साको विरोधमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सारा नेपालीहरु एक भएको यथार्थ उल्लेख गर्दै पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म यथाशिघ्र पुर्याउने जानकारी दिए । सरकार र देशलाई सहयोग पुर्याउन र नेपाली सीमा अतिक्रमित हुनबाट जोगाउन सजग नागरिकहरुको तर्फबाट गरिनु पर्ने दायित्व वा जिम्मेवारी निभाउन पनि सीमा बचाऔं अभियान थालिएको पनि डा. ढुंगेलले बताए।
डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन गरिएको बताउँदै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको जानकारी दिए ।
सीमा बचाऊ अभियान, नेपालका नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई तत्काल विश्वव्यापी बनाउनु पर्ने र बनाउने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले विगतमा आफूले काम गरिसकेको काली नदीको मुहानबारे आफूहरुसँग प्रमाण भएको बताए।
सारा खबरसँग कुरा गर्दै लिम्पियाधुरामा रहेको भारतीय सेना तुरुन्त हटाउन र एकपक्षीय ढंगले जारी गरिएको भारतको राजनैतिक नक्सा सच्याइनु पर्ने र सो भूभाग नेपालको नक्सामा समावेश गरिनु पर्ने प्रमूख मागसहित नागरिक समाजले सीमा बचाऔं अभियान, नेपाल शुरु गरेको अभियानका राष्ट्रिय परिषदका संयोजक स्वनाम साथीले बताएका छन्।उनले पत्रकारहरुसँग बोल्दै नेपाली भूमिको यस्तो अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने र नेपाल- भारत सीमा दुधको दूध पानीको पानीको रुपमा छुट्टिनु पर्ने र त्यसको लागि अभियान सदा सहयोगीको भूमिकामा तत्पर रहन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।