काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन तथा निरीक्षण गरेका छन्।
शुक्रबार मन्त्री पोखरेलसहित रक्षासचिव रेश्मीराज पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्रधानसेनापति पूर्णचन्द्र थापासहितको टोलीले फास्ट ट्रयाकको निरीक्षण तथा अनुगमन गरेका हुन्।
निरीक्षणको क्रममा पोखरेलसहितको टोलीले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित जीरो प्वाइन्टको निरीक्षण गरेको हो।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार सो क्रममा टोलीले फास्ट ट्रयाक निर्माणको वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिएको थियो।
यस्तै, टोलीले राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेको छ। निरीक्षणको क्रममा रक्षामन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्न गर्न आइपर्ने सक्ने मुख्य चुनौतीहरूको बारेमा जानकारी लिएका थिए। निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, सेनाका रथीहरू, अर्थ मन्त्रालयका सहसचिव तथा सम्बन्धित क्षेत्रका विज्ञ र सेनाका अधिकृतहरू थिए।