नेपालगन्ज, बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा आज शुक्रवारदेखि प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बाँके क्षेत्र नंंं. ३ का संघीय सांसद नन्दलाल रोकायले एक समारोहका वीच उद््घाटन गरे ।
सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपासमार्फत उनलाई सलामी दिए ।भब्य समारोहबीच प्रतियोगिताको उद््घाटन भए पनि प्रतिकूल मौसमका कारण खेल अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको खजुरा गाउँपालिका प्रमुख तथा मेयर रनिङ प्रतियोगिता संचालन समितिका संयोजक किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले शिक्षाको खेलकूद पनि महत्वपूर्ण पाटो भएको औल्याए । नेकपा प्रदेश नं. ५ सचिवालय सदस्य डम्बर विक तुफानले एक आपसमा हुने खेल प्रतिस्पर्धाबाट खेलाडी जन्मिने बताए ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा माविको व्यवस्थापनमा फागुन ३ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिता अब भने मौसम हेरेर शुरु गरिने छ । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन्् ।